रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरे : शंकर पोखरेल


धनगढी- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरेको आरोप लगाएका छन् । धनगढीमा प्रेस चौतारी, नेपालले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सहकारी प्रकरणको अनुसन्धानमा लामिछानेले गलत प्रचार गरेको र अनुसन्धान प्रभावित पार्ने काम गरेको बताएका हुन् ।

उनले भने, ‘अनुसन्धानलाई रोक्ने गतिविधि भइरहेका छन् । यो कानुनी राज्य माथिको उपास हुन् । कुनै पनि विषयमा अभियोग लाग्दा अनुसन्धानको विषयमा सहयोग गर्नुपर्छ। अनुसन्धानको विषयबाट भाग्ने कुरा उचित होइन। ’

गोर्खा मिडियामा सहकारीहरूबाट ६५ करोड बढी रकम गैरकानुनी रूपमा आएको उनले बताएका छन् । गोर्खा मिडियाका प्रबन्ध निर्देशक रहदा पूर्व गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अनुसन्धानलाई निसर्त सहयोग गर्नुपर्ने पोखरेलले बताएका छन् ।

सहकारीको रकम कम्पनी सञ्चालनमा खर्च गर्नु गैरकानुनी भएकाले रवि लामिछानेमाथि पनि कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडी बढेको उनले बताएका छन् । उनले भने, ‘अभियोग गम्भीर हो । सहकारीले कम्पनीमा लगानी गर्न नहुने कानुन छ । सहकारीबाट कम्पनीमा रकम ल्याएर टेलिभिजन सञ्चालन गरिएको छ । सहकारीको रकम दुरुपयोग भएको छ ।’

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारीको रकम हिनामिनाका लागि टेलिभिजन सञ्चालन गरिएको आरोप समेत लगाएका छन् । सहकारी प्रकरणमा लामिछानेलाई क्लिन चिट नदिइएको उनको तर्क थियो ।

उनले सहकारीको रकम हिनामिनाको विषयमा थप अनुसन्धान प्रहरीले गर्दै आएको बताएका छन् । संसदीय आयोगले कानुन अनुसार कारबाही गर्न भनेको उनले बताएका छन् ।

प्रतिक्रिया