राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रचण्ड भेट्न पुगे मिश्र


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।

आज बिहान प्रचण्ड निवास पुगेर मिश्रले प्रचण्डलाई भेटेका हुन् । चिया भेटका क्रममा देश विस्फोटनको अवस्थामा रहेको जानकारी गराएको मिश्रले बताएका छन् ।  त्यसलाई रोक्न राजतन्त्र पुनर्स्थापना गर्नुपर्ने भनाइ आफूले राखेको मिश्रले बताए ।

भेटमा देश विस्फोटनको अवस्थातिर उन्मुख रहेको भन्दै अब राजसंस्था पुनर्स्थापित नगर्ने हो भने अग्रगमन बाँकी नरहने प्रचण्डलाई सुनाएको मिश्रले बताएका छन् ।

जवाफमा प्रचण्डले पनि अहिलेकै स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा आफू पुगेको सुनाएको मिश्रको उल्लेख गरेका छन् । प्रचण्डको भनाइ उल्लेख गर्दै सामाजिक संजालमा मिश्रले लेखेका छन्, ‘यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ । म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन।  तर राति सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छु। निरन्तरतामा क्रमभंगता अत्यावश्यक भइसक्यो ।’

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०६२/०६३ को आन्दोलनको ताका ज्ञानेन्द्र शाह अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुने बताएका छन् ।

प्रचण्डको भनाइ उद्धृद गर्दै‌ मिश्रले भने, ‘राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुन्थ्यो ।’ यसका साथै प्रचण्डले यही स्थितिको निरन्तरताबाट अब देश नचल्ने निष्कर्षमा पुगिसकेको बताउँदै राजा महेन्द्रको समेत प्रशंसा गरे ।

प्रतिक्रिया