भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट स्वीकृत भएको छ ।

बिहिबार बसेको मन्त्रिपरिषदबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको भक्तपुर क्यान्सर अस्पताल गठन आदेशसम्बन्धी मन्त्रालयको प्रस्ताव स्वीकृत भएको हो । यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफैं सञ्चालन गरेको अस्पतालका तीन सय बढी कर्मचारी गठन आदेशबीना नियमावली बन्न नसक्दा वृत्ति विकासबाट बञ्चित हुँदै आएका थिए ।

ती सबैको समस्या समाधान गर्न अस्पताललाई विकास समितिमा परिवर्तन गर्ने मन्त्री पौडेलले केही अघि घोषणा गरेका थिए । उनले घोषणा गरेको एक महिनाभित्रै भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीको समस्या समाधान भएको हो ।

सरकारको निर्णयसँगै अस्पतालका सबै कर्मचारीहरु विकास समितिअन्र्तगत रहने भएका छन् । यसले लामो समयदेखि रोकिएको वृत्तिविकासका कारण परेको समस्या हल हुने भएको छ ।

मन्त्रिपरिषद बैठकले विकास समिति गठन आदेश स्वीकृत गरेसँगै अब अस्पतालले विनियमावली निर्माण गरेर कर्मचारीको वृत्तिविकासमा काम गर्ने बाटो खुलेको छ । कर्मचारीको समस्या समाधान भए पछि अब आवश्यक स्वास्थ्य जनशक्ति पठाउनसमेत मन्त्रालयलाई सहज हुने वातावरण बनेको छ ।

प्रतिक्रिया