पर्सामा विभाजित देखियो ‘एमाले–माओवादी’ !


काठमाडौं– सामान्य आसन ग्रहणको विषयमा विवाद हुँदा भएको झडपमा घाइते नेकपा कार्यकर्ता मुकेश चौरसियाको मृत्युपछि पर्सामा ‘एमाले–माओवादी’ विभाजनको परिदृश्यमा देखिएका छन् ।

नेकपाभित्रको यो परिदृश्यको कारण हो– चौरसियाको हत्या भएको भन्दै  दोषीलाई कारबाहीको मागसहित उठेको आन्दोलनमा ‘पूर्व माओवादी केन्द्र’का नेता कार्यकर्ताको मात्रै सहभागीता ।

पर्साको विन्दबासिनी गाउँपालिकाको यो परिदृश्यले केन्द्रीय स्तरमा पनि विभाजनको खतरा देखिएको छ । यसको कारण उक्त आन्दोलनमा नेकपा नेता मात्रीका यादव र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनजिक मानिएका रहबर अन्सारीहरूले प्रशासनलाई दिएको दबाब । यस प्रकरणमा पूर्वएमालेका स्थानीय वा केन्द्रीय नेताले उक्त हत्या वा मृत्युका विषयमा खासै बोलेका छैनन् ।

केन्द्रमा नै मतभेद कायम रहेका बेला पर्साको यो घटनाले विभाजनका निम्ति ‘वास्तविक कारण’को विऊ रोप्न सक्ने अनुमान गरिएको छ । तत्कालिन मधेसी जनाधिकार फोरम नेपालको विभाजन पनि जिल्लाको सानो विवादका कारण नै भएको नजिर कायम छ ।

मोरङ जिल्लामा यस्तै पदीय विवाद हुँदा समानान्तर समिति गठन भएपछि तत्कालिन अवस्थामा विजयकुमार गच्छादारले फोरम विभाजन गरी मधेसी जनाधिकार फोरम लोकतान्त्रिकको गठन गरेका थिए ।

नेकपाका एक उच्च तहका नेता भन्छन्,‘अहिले केन्द्रमा दुई अध्यक्षबीच मतभेद रहेको अवस्थामा सतहको आन्दोलनमा पक्ष र विपक्ष विभक्त भएको छ । केन्द्रीय समितिको बैठक पनि एक महिना पछि सारिएको छ । यसले शुभ संकेत दिँदैन ।’

त्यसो त भारतीय गुप्तचर प्रमुख सामन्त गोयल काठमाडौंमा प्रधानमन्त्रीलाई भेटेर फर्किएको विषयमा नै नेकपा सचिवालयभित्र रहेका कतिपय नेतालाई थाहा थिएन । नेकपाको विवाद यहि पेरिफेरिमा पर्सामा घिउ थप्नेगरीको आन्दोलनले झन उग्र बनाउन सक्ने सम्भावित कारण पहिल्याउन थालेका छन्, नेताहरू ।

प्रतिक्रिया