महाकाली नदीको जलसतह उच्च, ७० परिवारलाई सुरक्षित स्थानमा सारियो
कञ्चनपुर- कञ्चनपुरमा लगातारको वर्षापछि नदीमा जलस्तर खतराको तह पार गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार जिल्लामा बाढीको जोखिम उच्च रहेको छ ।
उनका अनुसार दोदा नदीको बाढीका कारण विस्थापित भएका ७० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
‘भीमदत्त नगरपालिका–१२ स्थित रहेको भुजेला खोलालाई महाकाली नदीले समस्या बनाएको छ, बस्ती डुबानमा छन ।’ प्रहरी निरीक्षक थापाले भने ,’दोदा नदी, जोगबुढा नदी र महाकाली नदीमा पनि पानीको बहाव उच्च छ ।’ उनका अनुसार दोधारा चाँदनी नगरपालिकास्थित जोगबुढा नदी पनि महाकाली नदीले समस्या बनाएको अवस्था छ । यसका कारण बस्ती डुबानमा परेका छन् भने एक-दुई परिवार विस्थापित भएका छन् ।
त्यसैगरी लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि शुक्रबार बिहानदेखि शारदा ब्यारेजको पुलमा चारपाङ्ग्रे सवारिसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार महाकाली नदीमा पानीको बहाव तीन लाख ५१ हजार क्युसेक पुगेको छ । शारदा ब्यारेजको पुल जीर्ण भएको भन्दै पानीको बहाव एक लाख क्युसेक नाघ्ने बित्तिकै ठूला सवारिसाधन आवागमनमा रोक लगाइने गरिएको छ ।
जिल्लाका अन्य नदीमा पनि जलस्तर खतराको तह पार गरेको छ । वर्षा नरोकिएका कारण नदीमा जलस्तर अझै बढ्नसक्ने बताइएको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता र पूर्व तयारी अपनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुरोध गरेको छ ।