लाइसेन्सको रसिदमै क्युआर कोड र फोटो राखिने


काठमाडौँ – प्रदेश सरकारहरूले अब सवारी चालक अनुमतिपत्र लाइसेन्सको छपाइ नहुँदासम्म कर तिरेको रसिदमै क्युआर कोड र फोटोको राख्ने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ अनुसार डाकेको विषयगत समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

२० साउनमा सबै प्रदेशका यातायात मामिला हेर्ने मन्त्रीहरू सहभागी बैठकले लाइसेन्स छपाइमा भएको ढिलाइलाई ध्यानमा राखेर प्रदेशहरूले नै लाइसेन्स छाप्न तयारी थाल्ने र लाइसेन्स जारी गर्दा वा नवीकरण गर्दा उपलब्ध गराइने राजस्व तिरेको रसिदमै क्युआर कोड र लाइसेन्सबाहेकको फोटो राख्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार यो निर्णय प्रदेशका यातायात कार्यालयहरूले आफ्नो अनुकूलतामा क्रमशः कार्यान्वयन गर्नेछन् । अहिले लाइसेन्स परीक्षा पास गरिसकेका २० लाख जनाको लाइसेन्स छाप्न बाँकी छ । कुनै लाइसेन्समा दुई वा सोभन्दा बढी वर्ग समावेश हुने भएकाले १७ लाख कार्डहरूमा लाइसेन्स प्रिन्ट गर्न बाँकी रहेको छ ।

अहिले दैनिक औसत ५ हजार वटा नयाँ लाइसेन्स जारी वा नवीकरण हुन्छन् । अहिले विभागले मेसिन र स्मार्ट कार्डको सफ्टवेयरको समस्या देखाएर विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नियमित छपाइ रोकिएको बताएको छ ।

प्रतिक्रिया