‘जलवायु परिवर्तनको असरबाट बच्न फलफूलका बिरुवा रोपौँ’


काठमाडौँ – वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरबाट बच्न फलफूलका बिरुवा रोप्नुपर्नेमा जोड दिएका छन्।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा आज (सोमबार) नेपाल ट्रेड युनियन कांग्रेस आबद्ध नेपाल राष्ट्रिय सुरक्षा गार्ड श्रमिक संघले सिंहदरबारस्थित बगैँचामा आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको असरबाट मुलुकलाई बचाउन देशभर यस्ता कार्यक्रममा जोड दिनुपर्ने बताएका हुन्।

रोपिएका बिरुवाको संरक्षण पनि गर्नुपर्ने मन्त्री ठकुरीको भनाइ थियो। पशुपन्छीलगायत जनावरलाई खानाको व्यवस्था गर्न सामुदायिक एवं राष्ट्रिय वनमा पनि फलफूलका बिरुवा रोप्नुपर्ने उनले बताए। सामुदायिक एवं राष्ट्रिय वनमा वृक्षरोपण गरे बाँदरलगायत जीवजन्तुले बालीनालीमा गर्नेे क्षति कम हुने मन्त्री ठकुरीको धारणा थियो।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले वातावरण अनुकूलनका लागि फलफूलका बिरुवाले सहयोग गर्ने बताए।

प्रतिक्रिया