भैरहवा र पोखरामा उडान भर्ने विषयमा मन्त्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबिच छलफल


काठमाडौं- संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ ।

बिहीबार चाईना साउदर्न एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डेलाई भेटेर पोखरा र भैरहवामा उडान भर्न आफूहरु उत्साहित रहेको बताएका हुन् ।

४० वटा भन्दा बढी मुलुकमा सेवा दिँदै आएको चीनको एक नम्बर एयरलाइन्सको रूपमा रहेको चाईना साउदर्न एयरलाइन्सले नेपालमा समेत आफ्नो सेवा उत्कृष्ट रहेको दाबी गरेको छ ।

चीनको गौन्जाउबाट हाल काठमाडौंमा नियमित रूपमा उडान भर्दै आएको उक्त एयरलाइन्सले पोखरा र भैरहवा उडानका लागि मन्त्री पाण्डेले नीतिगत रूपमा गर्नुभएको सुधारको प्रशंसा गरेको थियो ।

चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने कुराको स्वागत गर्दै मन्त्री पाण्डेले भने, ‘तपाईंहरू पर्यटकीय राजधानी पोखरा र भगवान गौतम बुद्धको जन्मस्थल भैरहवा उडान भर्ने कुरामा स्वागत गर्न चाहान्छु । यसले द्विपक्षीय हित आपसी सम्बन्ध विस्तारमा समेत फाईदा पुग्ने छ। तपाईंहरूको नियमित उडानले नेपाल र चीन दुबै मुलुकलाई फाईदा पुग्ने छ ।’

मन्त्री पाण्डेले नेपाल एयरलाइन्सले चाईना साउथ एयरलाइन्सबाट हवाई सुरक्षाबारे लाभ लिनेसमेत प्रस्ट पारेका छन् ।

साथै मन्त्री पाण्डेले हवाई उडानका क्रममा नेपाली पक्षबाट केही कमजोरी भएको भए पनि सोबारेमा आफूलाई जानकारी गराउन अनुरोध गरेका थिए ।

त्यसैगरी द्विपक्षीय हित र आपसी सम्बन्ध थप सुदृढ पार्न हवाई क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया