एचआइभी सङ्क्रमणबाट जाेगाउने औषधी ‘प्रेप’


पाल्पा- पाल्पामा एचआइभी सङ्क्रमणबाट बच्न पहिलो पटक ‘प्रेप’ सेवा सुरु भएको छ । जिल्लास्थित नेपाल परिवार नियोजन सङ्घले एचआइभी सङ्क्रमण रोक्न प्रभावकारी हुने ‘प्रेप’ सेवा तानसेनमा सुरु गरेको हो ।

एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरूलाई लक्षित गरेर सङ्घले सेवा सुरु गरेको हो । पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वतलगायतका जिल्लाका मानिसलाई यो सेवा दिइने शाखा प्रवन्धक सोबाकान्त न्यौपानेले जानकारी दिए । प्रेप नियमित सेवन गर्दा ९९ प्रतिशत सङ्क्रमित हुनबाट जोगिने उनले जानकारी दिए ।

के हाे प्रेप ?

प्रेप एक प्रकारको सेवन गर्ने औषधी हो । प्रेप केवल एचआइभी सङ्क्रमणको सुरक्षाका लागि मात्र हुने भएकोले अन्य यौनजन्य रोगबाट बच्न नसकिने वरिष्ठ मेडिकल अधिकृत राकेशलाल बज्राचार्यले बताए । उनले प्रेप औषधी खानुभन्दा अगाडि र प्रयोग गरिरहेको समयमा नियमित रुपमा एचआइभी परीक्षण गर्नुका साथै चिकित्सकसँग परामर्श लिनुपर्नेमा बताए ।

पाल्पामा हाल करिब ३५० बढी एचआइभी सङ्क्रमित रहेकामा दुई जनाले बाहेक सबैले औषधी सेवन गरेका छन् । ती सङ्क्रमितको सम्पर्कमा रहेको व्यक्तिलाई मात्र पेप सेवा दिन सकिने हो भने एचआइभी सङ्क्रमण न्युनीकरण गर्न सकिने स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत विश्वनाथ न्यौपानेले बताए ।

प्रतिक्रिया