
‘ओली बा’को पेज अनफ्लो अभियानः मेयर बन्नुअघि भेट्न पुगेका बालेन कहिलेबाट चिढिए ?
काठमाडाैं- गत स्थानीय तहको निर्वाचनमा राजधानी काठमाडौंको चुनाव चर्चित बन्यो । पेशाले इन्जिनियरसमेत रहेका र्यापर बालेन्द्र साह ‘बालेन’ स्वतन्त्र उम्मेदवार बन्दा काठमाडौंमा ‘कोर एरिया’ शब्द निकै चर्चित बनेको थियो । तर, काठमाडौं महानगरपालिका प्रमुखमा भिडेका केशव स्थापितको कोर एरिया कहिल्यै आएन ।
अन्ततः महानगरपालिकाको मेयरमा बालेन निर्वाचित भए । बालेन ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी थिइन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका थिए ।
त्यतिबेला महानगरको अन्तिम मतपरिणाम सार्वजनिक हुनुभन्दा अघिल्लो दिन बालेनले बालकोट गएर नेकपा एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए । त्यहाँ पुग्दा ओलीले बालेनलाई खाँदा लगाएका थिए ।
त्योबेलाकी प्रतिनिधिसभामा नेकपा एमालेकी सचेतक शान्ता चौधरीले फेसबुकमार्फत ओली र बालेनबीच अर्थपूर्ण भेट भएको उल्लेख गरेकी थिइन् । ‘अर्थपूर्ण भेट । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यू र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भेट, ओली निवास, बालकोट, भक्तपुर । फेरि पनि बधाई छ बालेनजी ’ उनले लेखेकी थिइन् ।
त्योबेला भेट्न गएका बालेन र खादा लगाइदिने ओली अहिले भने दुस्मन जस्तै भएका छन् । उनीहरुबीच सामाजिक सञ्जालदेखि भाषण गर्दा लगातार ‘वाक्युद्ध’ भइरहेको छ ।
कसरी आयो दुवैबीच तिक्तता ?
मेयरमा निर्वाचित भएपछि बालकोट पुग्दा एमाले अध्यक्ष ओलीले बालेनलाई तबला उपहार दिएका थिए । यत्तिको सुमधुर सम्बन्ध स्थापित भइसकेका बेला अहिले उनीहरुबीच के कारण मनमुटाव भयो ? त्यसको जड महानगरले सुकुम्बासीे बस्तीमा डोजर चलाएको घटना नै भएको पाइएको छ ।
गत मंसिर १३ गते ओलीले सुकुम्बासी बस्तीमा डोजर लगाउनु गलत भएको भनेपछि बालेन ओलीप्रति पहिलोपटक रुष्ट बनेका थिए । त्यो बेला ओलीले भनेका थिए, ‘तपाईंहरूले हिजो देखिहाल्नुभयो, सुकुम्बासी बस्तीको तमासा र उनीहरूलाई हटाउने हाकिमका कुरा सुनी हाल्नुभयो, प्रहरीले, सरकारले सहयोग गरेन, सहयोग गरेको भए उनीहरुलाई पराजित गर्थ्यौ हामी, त्यो के गरेको? शत्रु देशसँगको लडाइँको जस्तो भाषा, शैली, तरिका, त्यहाँ कुन शत्रु बसेका छन् ?’
त्यसपछि उनीहरुबीचको झगडामा अनेकौं प्रसंगले प्रवेश पायो । यस्तै काठमाडौं महानगरपालिकाले न्युरोडमा सडक भत्काए पछिको विवादले पनि उनीहरुको झगडामा घिउ हाल्ने काम गर्यो ।
सो सडक डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गर्दै थियो । तर, बालेनले फुटपाथ बढाउन खोज्दा तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठ र ओलीले त्यसको विरोध गरे ।
त्यसपछि काठमाडौं महानगरपालिकाले गत जेठ १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि मेयर शाहको निर्देशनमा एक ट्रक माटो लगेर खन्यायो । त्यसपछि झन् ओली–बालेन एक अर्काप्रति लक्षित कटाक्ष र आरोप–प्रत्यारोपमा उत्रिए ।
मेयर बालेनलेसामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टी इस्टेटको १० हजार करोडको काण्ड लुकाउनका लागि जनतालाई नझुक्याउनु भन्दै आरोप लगाएका थिए । त्यसपछि ओलीले , ‘भैंसीलाई ढाडमा झिंगा बस्यो कि के बस्यो, त्यसले थाहा पनि पाएको हुँदैन । झिंगा दंग परेको हुन्छ, चार लात हानें यसपल्ट भनेर’ भन्दै जवाफ फर्काएका थिए ।
त्यसपछि बालेनले असार १८ गते फेसबुकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले चिया पिउँदै गरेको फोटो राख्दै लेखेका थिए, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊँ भाले ।’
पछिल्लो समय भने बालेनले बालबालिकासम्बन्धी कसूर गरेको आरोप लागेकी एमालेकी प्रदेश सांसद रेखाकुमारी शर्मालाई पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई फेसबुकमार्फत दबाब दिँदै आएका छन् । मेयर शाहले पहिलो दिन शर्माको फोटो राख्दै फेसबुकमा लेखेका थिए, ‘वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, वहाँले विगत ८ वर्ष देखि बन्दी बनाएर एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनुभएको छ । काठमाडौं महानगरले विगत दुई महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ ।’
बालेनले यस्तो स्टाट लेखेपछि एमालेनिकटको संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौं महानगरपालिकाका नगरप्रमुख शाहमाथि गम्भीर आरोप लगाए । नेता बडालले नगरप्रमुख शाहमाथ खुफिया एजेन्सीसँगको निर्देशनमा काम गरेको गम्भीर आरोप लगाएका थिए ।
त्याेपछि बालेनले सांसद शर्मा लक्षित गरेको पोस्ट भने फेसबुकले हटाइदियो । उक्त पोस्ट एमाले कार्यकर्ता तथा सरकारले रिपोर्ट गरेर हटाएको आरोप लगाउँदै बालेन पुनः खनिए । उनले ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ’’ भन्दै चेतावनीसहितको अर्को पोष्ट गरे ।
त्यसपछि नै बालेनका समर्थकहरुले प्रधानमन्त्री ओलीको फेसबुक पेज अनफलो अभियान चलाएर विरोध गरिरहेका छन् । त्यसको सुरुवात एमआरआर नामक फेसबुक ग्रुपबाट भएको देखिन्छ । हिजो (मंगलबार)बाट सुरु भएको उक्त अभियानले ओलीको पेजमा ठूलो बाढी ल्याइदिएको छ ।
झण्डै ६ लाख ६६ हजार फलोअर्स भएको ओलीको पेजमा यो समाचार सामग्री तयार पर्दासम्म झण्डै ७० हजार फलोअर्स घटेका छन् । अहिले उनको पेजमा ५ लाख ९६ हजार फलोअर्स छन् ।
उता एमाले कार्यकर्ताले पनि बालेनको पेज अनफ्लो अभियान चलाएका छन् । तर, २१ लाख फ्लोअर्स भएको उनको पेजमा त्यसको कुनै असर परेको छैन ।



कागजपत्र |
