केरा बगानभित्र नाबालिका दिदी–बहिनीको शव फेला


मोरङ – मोरङको सुन्दरहरैंचामा आज दिउँसो केरा बगानभित्र एकै घरका नाबालिका दिदी–बहिनीको शव फेला परेको छ ।

सुन्दरहरैंचा नगरपालिका–७ स्थित नारायण न्यौपानेको केरा बगानभित्र आज दिउँसो ४ः३० बजेतिर एकै घरका नाबालिकाहरु मृत भेटिएका हुन् । धनकुटा घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु एक वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की छिमेकीको केरा बगानभित्र मृत भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

अर्जुनकी श्रीमती २९ वर्षीया अस्मिता न्यौपाने भने सम्पर्कविहीन छन् । केरा बगानभित्र दुई बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सम्पर्कविहीन बनेकी आमा अस्मिताको खोजी तीव्र पारिएको डीएसपी बस्नेतले बताएका छन् । घटनाको प्रकृति हेर्दा दुवै बालिकालाई विष खुवाएर मारे जस्तो देखिने उनले बताए ।

बलिकाहरुको शव फेला भेटिएको ठाउँ स्थान नजिकै कीटनाशक औषधि ‘मेटासिट’ को बट्टा फेला परेको प्रहरीले जनाएको छ । छोरीहरुलाई विष खुवाएर आमा सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीको अनुमान छ । अनुसन्धान र आमा फेला परेपछि वास्तविकता पत्ता लाग्ने बस्नेतले बताएका छन् । बालिकाका बुवा अर्जुन प्रहरीको सम्पर्कमै रहेको उनले बताए ।

प्रतिक्रिया