समानुपातिक प्रणाली हटाए मुलुकमा महाभारत हुन्छः उपेन्द्र यादव


जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरेर समानुपातिक प्रणाली हटाइए मुलुकमा महाभारत मच्चिने चेतावनी दिएका छन् ।

आज जनता समाजवादी पार्टी नेपालको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले दुई ठूला दल नेपाली कांग्रेस र एमालेविरुद्ध बोल्ने साना दलहरूलाई तह लगाउन समानुपातिक प्रणाली हटाउने षड्यन्त्र भइरहेको बताए ।

मुलुकमा संघीयता, समावेशी लोकतन्त्र मधेश आन्दोलनको देन रहेको उल्लेख गर्दै अध्यक्ष यादवले भने, ‘अस्थिरताको नारा दिएर समानुपातिक व्यवस्थालाई हटाउने षड्यन्त्र भइरहेको छ । तर यो हटाउने चेष्टा गरेको खण्डमा मुलुकमा आउने महाभारत रोक्न कसैले सक्दैन ।’

मुलुकमा अस्थिरता समानुपातिक प्रणालीले नभई कांग्रेस, एमाले र माओवादी केन्द्रको स्वार्थ भएको आरोप लगाउँदै उनले भने, ‘तर साना दलमाथि त्यसको आरोप लगाएर, साना दलहरूलाई समाप्त गर्ने योजना चलिरहेको छ । त्यसकारण यसका विरुद्ध एक पटक फेरि संघर्षका लागि हामीले तयारी रहनु आवश्यक छ ।’ विगतका गरेक विभिन्न काण्डहरूलाई ढाकछोप गर्न तथा तस्कर माफियाहरूलाई संरक्षण गर्न कांग्रेस र नेकपा एमाले मिलन भएको यादवले आरोप लगाए ।

प्रतिक्रिया