एन्फाले अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न जग्गा खोज्दै, २२ लाख अमेरिकी डलर विनियोजन


काठमाडाैं- अखिल नेपाल फुटबल सङ्घ एन्फाको सातौँ कार्यसमितिको बैठकले सरकारसँग सुविधासम्पन्न रङ्गशाला बनाउनका लागि जग्गा माग गर्ने निर्णय गरेको छ ।

एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङको अध्यक्षमा दुई दिनसम्म बसेको बैठकले झण्डै २५ देखि ४० हजार दर्शक क्षमता भएको सुविधासम्पन्न आधुनिक र अन्तर्राष्ट्रिय मापदण्ड सहितको फुटबल रङ्गशाला निर्माण गर्न अतिआवश्यक देखिएकोले प्रधानमन्त्रीलाई जग्गा उपलब्धताको लागि अनुरोध गर्ने निर्णय गरेको हो ।

नयाँ रङ्गशाला निर्माण गर्न २२ लाख अमेरिकी डलर विनियोजन गर्ने र रङ्गशाला निर्माणार्थ जग्गा प्राप्तीको लागि सरकारसँग समन्वय गर्न सङ्घका उपाध्यक्ष दिपक खतिवडाको संयोजकत्वमा उपाध्यक्ष दावा लामा र कार्यसमिति सदस्य मनिष जोशी सदस्य रहने गरी तीन सदस्य समिति गठन पनि गरिएको छ ।

यस्तै दशरथ रङ्गशाला सङ्घबाटै रेखदेख, संरक्षण, मर्मत तथा परिचालनका लागि युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवसँग माग गर्ने निर्णय गरिएको बैठकपछि निकालिएको विज्ञप्तिमा उल्लेख छ । दशरथ रङ्गशालाको मैदान मर्मतको लागि ३ लाख अमेरिकी डलर विनियोजन गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया