प्रशासन सेवाका २० महिलासहित १०४ अधिकृत दीक्षित


काठमाडौँ – प्रशासन सेवाका २० महिलासहित १०४ अधिकृतहरू दीक्षित भएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरले बिहीबार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका तृतीय श्रेणीका नवनियुक्त अधिकृतको आधारभूत प्रशासन प्रशिक्षणपछि उनीहरूलाई दीक्षित गरेको हो ।

जसमा २० जना महिला र ८४ जना पुरुष रहेका छन् । उक्त तालिम २०८० फागुन १० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरमा सुरु भएको थियो । दीक्षान्त समारोह कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले तालिमबाट प्राप्त ज्ञान र सीपलाई जनताको हितमा प्रयोग गर्नका लागि निर्देशन दिएका थिए । उनले प्रशिक्षार्थीहरूले ईमान्दारीताका साथ सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

साथै उनले प्रशिक्षार्थीहरूलाई नेपालको संविधान एवम् संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मर्म अनुरूप नागरिक सन्तुष्टिलाई केन्द्रबिन्दुमा राखी सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाउन र सार्वजनिक प्रशासनलाई सुशासनयुक्त, समावेशी र न्यायपूर्ण संयन्त्रको रूपमा विकास गर्न जरुरी रहेको बताए ।

यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदीले दीक्षित प्रशिक्षार्थीहरूलाई बधाई एवं शुभकामना व्यक्त गर्दै प्रशिक्षार्थीहरूलाई हरेक कुरामा सकारात्मक सोच राखेर सार्वजनिक जीवनका हरेक जिम्मेवारी उत्साहित र उत्प्रेरित रूपमा निर्वाह गर्दै सार्वजनिक हित लाई केन्द्रबिन्दुमा राखी राष्ट्र सेवा गर्ने जिम्मेवारी सम्हाल्न तयार रहनुपर्ने बताए ।

कार्यक्रम शुभारम्भमा प्रशिक्षार्थीहरूद्वारा सामूहिक रूपमा तयार पारिएको मूल्य र मान्यता प्रतिको प्रतिवद्धताहरु सामूहिक रूपमा वाचन गर्दै ती मूल्य र मान्यताहरू जीवनपर्यन्त लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नवनियुक्त उनीहरू अब सरकारले खटाएको कार्यक्षेत्रमा जानेछन् ।

 

प्रतिक्रिया