

मारूतीको बलेनो ‘उत्कृष्ट’ कार

नयाँ दिल्ली – मारुती सुजुकी इन्डियाको प्रिमियम ह्याचबयाक कार बलेनो आठ लाख वटा बेचेको छ। कम्पनीले सोमबार यस्तो जनाएको हो। भारतका मोटर कम्पनीहरूमध्ये मारुती सुजुकी कार निर्माता सबैभन्दा ठूलो कम्पनी हो।
बलेनोलाई मारुतीले सन् २०१५ मा बजारमा ल्याएको हो। ‘५९ महिनामा बिक्रीमा आठ लाख वटाको इकाइ पार गर्नु अभूतपूर्व हो,’ कम्पनीले भनेको छ। मारुतीका सेल्सतर्फका कार्यकारी निर्देशक शशांक श्रीवास्तवले भने ‘पाँच वर्षको छोटो अवधिमा आठ लाख ग्राहकको आँकडा पार गर्नु महत्वपूर्ण उपलब्धी हो। बलेनो हामीले ग्राहककै लागि ल्याएका हौं।’
मारूतीले प्रिमियम ह्याचब्याक पनि उत्पादन गर्छ र यी उत्पादन उत्कृष्ट छन् भन्ने श्रेणीमा कम्पनीलाई स्थापित गराउने काम बलेनोले गरेको उनले बताएका छन्। कम्पनीले बलेनो सिरिजलाई ‘नेक्सा’ श्रृंखलाका रूपमा बजारमा उतारेको छ। बलेनोको उत्पादन भारतमा मात्रै हुने गरेको छ। मारुतीले २०० वटा शहरमा ३७७ नेक्सा आउटलेट छन्, जसबाट बलेनो बिक्री भइरहेका छन्।

