कांग्रेसका विवादित सांसद बजगाईंको ‘एक्स’को ‘अकाउन्ट सस्पेन्ड’


काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका विवादित सांसद राजेन्द्र बजगाईंको सामाजिक सञ्जाल एक्सले अकाउन्ट सस्पेन्ड गरेको छ ।

पहिले एउटा क्यासिनोको बक्यौता नतिरेर विवादित बनेका सांसद बजगाईको एक्सको एकाउन्टबाट बालबालिकाको नग्न तस्बिर शेयर गरेपछि प्रयोगकर्ताहरुले रिपोर्ट गरेपछि एक्सले अकाउन्ट सस्पेन्ड गरेको हो ।

आफ्नो एक्स अकाउन्टमा बालबालिकाको नग्न भिडियो राखेपछि बजगाईंको आलोचना भएको थियो ।

पछिल्लो समय प्रतिनिधिसभाको सांसद भएको हैसियतमा नेपाली आकाश असुरक्षित रहेको भन्ने खालको अभिव्यक्ति दिँदै हिँडेका बजगाईं नागरिक उड्डयन प्राधिकरणविरुद्ध सामाजिक सञ्जाल र संसदबाट समेत विरोध गर्दै आउने गरेका छन् । कतिपयले उनले संसदमा राखेको अभिव्यक्तिबाट नेपालको पर्यटन क्षेत्रलाई झन् नकारात्मक असर पर्नसक्ने अनुमान गर्दै बाह्य पर्यटकलाई भडकाउने कार्यमा गर्न नहुने समेत जनाएका छन् ।

आफूलाई पर्यटन व्यवसायीका रुपमा चिनाउन खोज्ने विवादित बजगाईंले नेपालको पर्यटन क्षेत्रमा नै नकारात्मक सन्देश फैलाउने गरेको आरोप समेत लाग्ने गरेको छ ।

कालोधन ओसार पसारको आरोप लागेको आइसिआइजेको रिपोर्टकै सन्दर्भलाई लिएर पत्रकारविरुद्ध मुद्दा समेत हालेका बजगाईंले पछिल्लो समय नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध तुच्छ शब्द नै प्रयोग गरी सामाजिक सञ्जालमा पोष्ट गर्दै आउने समेत गरेका थिए ।

प्रतिक्रिया