सुदूरपश्चिम भाषा र संस्कृतिको खानी हो स् प्रदेश प्रमुख मियाँ


काठमाडौँ – सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले सुदूरपश्चिम भाषा र संस्कृतिको खानी रहेको बताएका छन् ।

राष्ट्रिय लोक संस्कृति प्रतिष्ठान नेपाल केन्द्रीय समिति सुदूरपश्चिम प्रदेश अत्तरिया कैलालीले आज आयोजना गरेको गौरा तीज विशेष कार्यक्रममा प्रदेश प्रमुख मियाँले अहिले राष्ट्रियस्तरमा पनि सुदूरपश्चिम प्रदेशका भाषा र संस्कृति झल्काउने गीत संगीतले राम्रो चर्चा पाइरहेको बताए ।

‘सुदूरपश्चिम भाषा र संस्कृतिको एउटा खानी हो । सुदूरपश्चिम अन्य क्षेत्रभन्दा धेरै महत्त्वपूर्ण रहेको छ । धेरै सांस्कृतिक पहिचान रहेको छ’, उनले भने, ‘अहिले सुदूरपश्चिमले राष्ट्रियस्तरमा आफ्नो पहिचान कायम गरेको छ । जताततै हेर्दा पनि सुदूरपश्चिम प्रदेशको भाषा, संस्कृति र गीतले चर्चा पाइरहेको छ ।’

उनले यहाँको संस्कृति संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए । गौरा तीज विशेष कार्यक्रममा प्रदेश प्रमुख मियाँलाई नागरिक अभिनन्दन गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष लीलाधर बास्कोटा, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम, प्रदेशसभा सदस्य तुलसी देवकोटा, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलगायतले प्रदेश प्रमुख मियाँलाई दोसल्ला ओढाएर र कदरपत्र प्रदान गरेर सम्मान गरेका थिए ।

सुदूरपश्चिम प्रदेशका पाँच जना महिलालाई समेत कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा तीज गीत प्रतियोगितासमेत गरिएको थियो ।

प्रतिक्रिया