माओवादी बैठक : जनपरिचालनका कार्यक्रम तय गर्न पार्टी नेतृत्वलाई सुझाव


काठमाडौं – नेकपा (माओवादी केन्द्र) का नेताहरुले सङ्गठन विस्तारलाई विशेष ध्यान दिन एवं प्रभावकारी तवरले जनपरिचालनका कार्यक्रम तय गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा आफ्नो धारणा राख्दै नेताहरुले पार्टीभित्र आन्तरिक एकतालाई सुदृढ गरेर संगठन विस्तारलाई ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

आजको बैठकमा नेताहरु झक्कु सुवेदी, श्रीकृष्ण अधिकारी, विष्णु सापकोटा, लेखनाथ न्यौपानेलगायत नेताहरुले पार्टीको पछिल्लो अवस्था, संगठन विस्तार एवम् आन्तरिक एकतामा जोड दिएका थिए । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई बलियो बनाउनका लागि खुल्ला छलफल भएको र त्यसलाई अन्यथा रुपमा लिन नहुने बताएका थिए ।

उनले अब व्यापक रुपमा पार्टी निर्माणतिर जाने र समाजवादी धारका शक्तिलाई सहकार्यको बाटो पहिल्याउने गरी अग्रसर हुने बताए । बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपाध्यक्षद्वय पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा र नेता हितमान शाक्यलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया