काठमाडौंमा गौरा पर्व मनाइने, तयारी पूरा
काठमाडौं- राजधानीमा बस्दै आएका सुदूरपश्चिमवासीले यसपटक पनि गौरा पर्व मनाउने भएका छन् ।
विगत २७ वर्षदेखि पर्वको आयोजना गरिरहेको प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह (प्रसंसा)ले भोलिदेखि गौराका विभिन्न कार्यक्रम सुरु गर्ने जनाएको छ ।
भोलि भदौ ८ गते कोटेश्वर महादेवस्थान मन्दिरमा विरुडा भिजाउने, ९ गते विरुडा धुने, न्वाली गोरा मनाउने तथा ठूली गौरा गौरा ल्याउने र सप्तमी पूजा गर्ने तयारी रहेको सक्षमका अध्यक्ष हरिप्रसाद अवस्थीले जानकारी दिए ।
त्यस्तै भदौ १० गते अठ्याबाली पूजन गर्ने उनले बताए । सोही दिन काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा सांस्कृतिक कार्यकम, झाकी गौरासहित औपचारिक कार्यक्रम गर्ने उनले बताए ।
उनका अनुसार भोलिदेखि नै ११ गतेसम्म दिउँसो १ बजेदेखि टुँडिखेलमा सामूहिक देउडा कार्यक्रम सञ्चालन हुनेछ । त्यसका लागि सम्पूर्ण तयारी भइसकेकाले सबैलाई उपस्थित हुन अध्यक्ष अवस्थीले आग्रह गरेका छन् ।