पाठेघरको बायोप्सी निकाल्न खोज्दा एक महिलाको मृत्यु


चितवन- चितवनको भरतपुर अस्पतालमा उपचाररत एक महिलाकाे मृत्यु भएकाे छ । पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा गैंडाकोट नगरपालिका–५ की ३९ वर्षीया सम्झना काफ्ले ढकाल मृत्यु भएको हाे ।

अस्पतालमा मंगलबार बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो । सूचना अधिकारी पाैडेलका अनुसार मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या थियाे । उनले बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको तर बचाउन नसकिएको बताए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले एनेस्थेसिया दिने बित्तिकै बिरामी अचानक गम्भीर अवस्थामा पुगेको बताए । उनले घटनाका बारेमा थप बुझ्ने काम भैरहेको बताए ।

मृतकका आफन्तहरूले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको बताएका छन् ।

प्रतिक्रिया