भारतीय चिकित्सककाे देशव्यापी हडताल, नेपालमा पनि असर


काठमाडाैं- सहकर्मीको बलात्कार र हत्यापछि भारतीय चिकित्सकले शनिबार राष्ट्रव्यापी विरोध र हडताल गरेका छन्  । पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालमा अगस्ट ९ मा ३१ वर्षीया डाक्टरको रगतले लतपतिएको शव प्राप्त भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको हो  । स्वास्थ्यकर्मीले हडतालको नेतृत्व गरेका छन् भने दोषीलाई कारबाहीको माग गर्दै दसौँ हजार सर्वसाधारण पनि हडतालमा सहभागी भएका छन् ।

धेरै राज्यका सरकारी अस्पतालमा उनीहरूले विरोधस्वरूप सोमबार वैकल्पिक सेवाहरू ‘अनिश्चित कालका लागि’ बन्द गरेका छन् । हडतालले नियमित स्वास्थ्य सेवा प्रवाहमा समेत बाधा पुर्‍याएको छ । हडतालका कारण नेपाली सीमा नाकाबाट उपचारका लागि जानेहरुलाई पनि असर परेको छ । चिकित्सकहरु आन्दोलित हुँदा उपचारका लागि भारतीय अस्पतालमा पुगेका नेपालीहरु फर्कन बाध्य भएका छन् ।

प्रदर्शनकारीहरू ‘निको हुने हातबाट रगत बग्न हुँदैन’, ‘इनफ इज इनफ’ ‘बलात्कारीलाई फाँसी दे’ आदि लेखिएको प्लेकार्डसहित विरोधमा उत्रिएका छन्  ।

मृतक चिकित्सकको शव शिक्षण अस्पतालको सेमिनार हलमा फेला परेको थियो । शव परीक्षण प्रतिवेदनबाट यौन उत्पीडनको पुष्टि भएको छ भने अदालतमा दर्ता भएको निवेदनमा पीडितका आमाबाबुले छोरीलाई सामूहिक बलात्कार गरेको आशंका व्यक्त गरेका छन् । घटनाबारे अनुसन्धान सुरु भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया