काठमाडौंमा वितरण हुने जारको पानीमा कोलिफर्म, ‘अक्वा त्रिदेव’लाई २ लाख जरिवाना


काठमाडौं- काठमाडौंमा वितरण हुने  ‘अक्वा त्रिदेव’ ब्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएकाे छ ।  तारकेश्वर नगरपालिका- १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इष्डष्ट्रीले उत्पादन गरेको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौं महानगरपालिकाले २ लाख जरिवाना गर्ने निर्णय गरेको छ ।

साउन २५ गते गोङ्गवु क्षेत्रबाट विभिन्न ५ वटा ब्राण्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमुना लिइएको थियो । यसरी लिइएको नमुना काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।

प्राप्त रिपोर्टमा अक्वा त्रिदेव ब्राण्डको पानीमा फिकल कोलिफर्म भेटिकाे निरीक्षण अधिकृत डा. अवधेश झाकाले बताए ।  प्रति १ सय मिलिलिटर नमुनामा ३०० भन्दा बढी कोलनी फर्मिङ् युनिट सिएफयु देखिएको उनले बताए ।  डा. झाका अनुसार जरिवाना गरिएसँगै यो ब्याचमा उत्पादन भएको सबै पानी बिक्रीमा प्रतिबन्ध लगाइएको छ ।

खाद्य प्राविधिक अनिलका अनुसार नेपाल सरकारको खाद्य तथा दाना पदार्थको अनिवार्य गुणस्तर मापदण्ड २०८० बमोजिम प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । पानीमा सिएफयु ३ सयभन्दा धेरै देखिनु भनेको पानीको स्रोतमा सरसफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको उनले बताए  ।

कोलिफर्मको स्रोत मानव वा पशुको दिशा हो । यसमा भिब्रो कोलेरा भने शून्य देखाएको छ । यो भनेको हैजा फैलिने जीवाणु नहुनु रहेको बस्नेतले स्पष्ट पारे ।

 

प्रतिक्रिया