अस्पतालमा बेड अभाव भएपछि त्रिपाल टाँगेर उपचार


रुकुमपश्चिम- रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ सल्लेमा रहेको जिल्ला अस्पतालमा बेड अभाव भएपछि त्रिपालले टाँगेर वैकल्पिक शय्या थपिएको छ । बिरामीको चाप बढेपछि  बेड अभाव भएकाले अस्पताल विकास समितिले वैकल्पिक शय्या व्यवस्थापन गरेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीले १५ शय्याको अस्पतालमा दैनिक ४० बिरामी भर्ना गर्नुपरेको जानकारी दिए । शय्याकै अभाव देखिपछि अस्पताल परिसरमा त्रिपालले बेरेर वैकल्पिक शय्या व्यवस्थापन गरिएको उनले बताए ।

अस्पतालले गाडी पार्किङका लागि ग्रिल र जस्ता पाताको प्रयोगमा निर्माण गरिएको छाप्रोलाई त्रिपालले बेरेर अहिले शय्या राखिएको छ । तत्कालका लागि चारवटा शय्या राखिएको र आवश्यक परेको अवस्थामा केही शय्या अझै थप्न सकिने अध्यक्ष कुसारीले बताए ।

मनसुनजन्य विपदका घटनाहरु, मौसमी फ्लुलगायतका बिरामीहरू बढिरहेकाे बताइएकाे छ ।  २०४५ सालमा स्थापित यस अस्पतालको क्षमता तथा जनशक्ति विकास हुन सकिरहेको छैन ।

प्रतिक्रिया