पढ्दापढ्दै मन्त्री


काठमाडौं – बंगलादेशमा हालै गठन भएको मन्त्रीमण्डलमा दुई जना २६ वर्षका विद्यार्थीहरू मन्त्री नियुक्त भएका छन् । मोहम्मद नाहिद इस्लाम र आसिफ महमूद शोजीव भुइयाँ। यी दुई जना केटा एकैचोटि विश्व विद्यालयको कक्षा कोठाबाट सडक आन्दोलन हुँदै मन्त्रालयको कुर्सीमा बस्न पुगेका छन्।

(सन् १९८५ मा भारतको असम राज्यमा असम गणपरिषदको नेतृत्व गरेर आन्दोलन गरि चुनाव जितेर गौहाटी विश्व विद्यालयका विद्यार्थी श्री प्रफुल्लकुमार महन्त एकैचोटि असम राज्यको मुख्यमन्त्री हुन पुगेका थिए। पढ्दापढ्दै लामो आन्दोलन गरेर एकैचोटि मुख्यमन्त्री हुने महन्त त्यतिखेर ३२ वर्षका थिए।

(नेपालमा २००७ सालको राजनीतिक परिवर्तनपछि २००७ साल फाल्गुण ७ गते गठन भएको राणा-कांग्रेस संयुक्त सरकारमा श्री भरतमणि शर्मा नाम गरेका एक जना २३ वर्षका विद्यार्थी पनि मन्त्री नियुक्त भएका थिए। बनारसमा एमए पढ्दापढ्दै एकैचोटि खाद्य, कृषिमन्त्री नियुक्त भएर काठमाडौं पुगेका ती विद्यार्थीको घर देउखुरी थियो। कलिला श्री भरतमणी शर्मा घिमिरेलाई मन्त्री नियुक्त गर्दाको कथा पनि निकै रमाइलो छ। सो मन्त्रीमण्डलमा कांग्रेसले ५ जना मन्त्री पाएको थियो। जसमा वीपी कोइराला, सुवर्ण शमशेर राणा र गणेशमान सिंहको नाममा सबैको सहजै सहमति भयो। अन्य दुई सिटमा एक जना तराईबाट र एक जना महिला वा विद्यार्थीबाट मन्त्री बनाउने कुरो उठ्यो। पार्टीले तराईबाट सप्तरीका श्री रामेश्वरप्रसाद सिंहलाई मन्त्री बनाउन चाहेको थियो। तर भारतीय राजदूत सीपीएन सिंहको दबाबले महोत्तरीका श्री भद्रकाली मिश्रलाई मन्त्री नियुक्त गर्नु पर्‍यो।

पार्टी सभापति मातृका र कमाण्डर वीपीले महिला कोटाबाट आफ्नी बहिनी विजयालाई मन्त्री बनाउन खोजेका थिए तर त्यसमा सहमति जुटेन। पश्चिम नेपालका प्रभावशाली नेताहरू पार्टी महामन्त्री महेन्द्रविक्रम शाह, कुँवर कल्लु सिंह, सीवी सिंह, शिवराज पन्त र ललित चन्दले पश्चिम नेपाललाई पनि एकजना मन्त्री दिनु पर्छ, पश्चिम नेपाललाई छुटाउन मिल्दैन भनेर आग्रह गरेपछि पश्चिम नेपालबाट मन्त्री बनाउने मान्छेको खोजी भयो। जसमा अर्घाखाँचीका काशीनाथ गौतम, डोटीका सीवी सिंह, देउखुरीका परशुनारायण चौधरी तथा भरतमणी शर्मा र नेपालगन्जका कुँवर कल्लु सिंह तथा ललित चन्दको नाम अगाडि आयो।

त्यतिखेर दाङको मोर्चामा केन्द्रको सहयोग नपाएर पनि थोरै लडाकुको भरमा सहजै कब्जा गरेर भरतमणी शर्मा चर्चामा आएका थिए। देउखुरीका धनाढ्य जिमिन्दार भएकोले उनी कांग्रेसलाई नगद सहयोग गर्ने मान्छेमा अग्रणी पर्थे। बनारसमा पार्टी र साथीहरूलाई गारो साँगुरो पर्दा आर्थिक सहयोग गरिरहने भएकोले उनी पार्टी पङ्क्तिमा पनि लोकप्रिय पनि थिए। सूर्यप्रसाद उपाध्यायले परशुनारायण चौधरी र वीपीले काशीनाथ गौतमलाई मन्त्री बनाउन खोजे पनि पार्टी महामन्त्री श्री महेन्द्रविक्रम शाह र श्री कृष्णप्रसाद भट्टराईको अडानले पश्चिम नेपाल र विद्यार्थी कोटाबाट २३ वर्षका श्री भरतमणि शर्माले नै मन्त्री हुन पाए र कीर्तिमान कोरे।

प्रतिक्रिया