धनगढीका गिरी : एक हप्ताअघि जेलबाट छुटे, फेरि १५ तोला सुन चोर्दा समातिए


कैलाली- कैलालीको धनगढीबाट १५ तोला सुनसहित ६० तोला चाँदी चोरी भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका योगेन्द्र ओझाको घरबाट सुन र चाँडीका गहना चोरी भएका हुन् ।

शिक्षक योगेन्द्र ओझाको साढे २ तले घरको ढोका फुटाएर चोरी गर्ने धनगढी–१८ फूलबारीका हर्क गिरीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । ओझाको घरमा कोही नभएको समयमा बुधवार बिहान गिरीले चोरी गरेका थिए । उनले सुन, चाँदीसहित २५ हजार नगदसमेत चोरी गरेका कैलाली प्रहरीले बताएको छ । कैलाली प्रहरीले बिहिवार राति गिरीलाई सुतेको अवस्थामा पक्राउ गरेको हो।

कैलाली प्रहरीले सीसीटीभी फुटेको विश्लेषणका आधारमा गिरीको पहिचान गरेको थियो । घटनाको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ ।

गिरी  यसअघि हसनपुरमा बस्दै आएका एक जना डाक्टरको घरमा चोरी गरेको मुद्दामा पनि पक्राउ परेका थिए । उनी कैलाली कारागारबाट कैद भुक्तान गरि हप्तादिन अघि मात्र छुटेका थिए ।

प्रतिक्रिया