

मन्त्री भएको २३ दिनमै २ दुर्घटना भएपछि मन्त्री पाण्डे भन्छन्, ‘हवाई सुरक्षामा अधिकतम लचकतादेखि कठोरसम्मको निर्णय लिन्छु’

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्री पाण्डेले हवाई सुरक्षालाई अधिकतम गम्भीरताका साथ केन्द्रीत रहनुपर्ने बताएका छन् ।
पर्यटनमन्त्री पाण्डेले सामाजिक सञ्जालमा लेख्दै आफूले मन्त्रालय सम्हालेको छोटो अवधिमा दुई ठूला दुर्घटना घटेकोमा दुःख व्यक्त गर्दै आफूले हवाई सुरक्षाका लागि केन्द्रमा रहेर काम गर्ने जनाएका छन् ।
उनले आवश्यक पर्दाका बखत हवाई सुरक्षाका लागि अधिकतम लचकतादेखि कठोर निर्णयसम्म लिन पछि नपर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
उनले अगाडि लेखेका छन्, ‘वर्षाको मौसम शुरु भएसँगै बाढी पहिरो र सडक दुर्घटनाबाट मुलुक आहत भईरहेका बेला यही साउन ९ सौर्य एयरको विमान र साउन २३ (बुधबार) एयर डाइनेष्टिको हेकिकप्टर दुर्घटनाले हामीलाई थप मर्माहत बनाएको छ ।
कुनैपनि प्रकारका प्राकृतिक विपत्तीका बेला उद्धार र राहतमा सहज र भरपर्दो माध्यम मानिएको हेलिकप्टर दुर्घटना हुनु हाम्रा लागि थप चुनौतीको विषय बनेको छ ।
मैले मन्त्रालयको जिम्मेवारी सम्हालेको २३ दिनको अवधिमै भएका यी दुई हवाई दुर्घटनाले मेरो कार्य प्राथमिकतालाई हवाई सुरक्षामा अधिकतम् गम्भिरताका साथ केन्द्रित गर्नु पर्ने आवश्यकता रहेको मैले ठानेको छु ।
बुधबार दिउँसो हेलिकप्टर दुर्घटना भएको खबर पाउना साथ उद्धार र खोजमा तीब्रता दिन सम्बन्धित निकायहरुसँग निकट रहेर समन्वयमा जुटेको थिएँ ।
दुर्घटना स्थलमा म आफै पुगेर उद्धार र खोजमा समन्वय गर्ने तयारी गरी रहँदा यही दुर्घटनाको विषयलाई लिएर मन्त्रिपरिषद्को अकास्मिक बैठक बस्नु पर्ने भएकाले विभागीय मन्त्रीका हैसियतले बैठकमा सहभागी हुनु परेको हुँदा घटनास्थलमा पुग्न संभव भएन । विहीबार विहानै म मन्त्रालयका सचिव,क्यानका पदाधिकारी र नुवाकोटका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा निकायका प्रमुख सहित घटनास्थल पुगेर वस्तुस्थिति जानकारी लिएकाका थियौं।
मन्त्री परिषदको बैठक सकिए पछि बुधबार साँझ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूसँग करीब डेढ घण्टा हवाई सुरक्षाको सुनिश्चितताका लागि तत्कालीन र दीर्घकालीन रुपमा गर्नु पर्ने कामका विषयमा गम्भीर छलफल भयो । प्रधानमन्त्री ज्यूले यो विषयलाई गम्भीरता पूर्वक लिँदै नीतिगत तथा संरचनागत सुधारका सबै उपाय अपनाउन निर्देशन दिनु भएको छ । साथै बुधबार मध्यरातसम्म मन्त्रालयमा बसेर यस विषयमा गम्भीर छलफलमा जुटेका थियौं ।
हवाई सुरक्षाका विषयमा अधिकतम् लचकता अपनाउनेदेखि आवश्यक पर्दा कठोर निर्णय लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पछि नपर्ने कुरामा म यहाँहरुलाई आश्वस्त बनाउन चहान्छु ।
साथै म सबै हवाई सेवा प्रदायक कम्पनी तथा विमान चालक तथा प्राविधिक जनशक्तिलाई हवाई सुरक्षाका लागि आफूले अपनाउनु पर्ने वा पालना गर्नु पर्ने विषयलाई पुनः गम्भीरतापूर्वक समीक्षा गर्न र हवाई सुरक्षाका विषयमा कुनै पनि सम्झौता नगर्न, सजग, सचेत र जिम्मेवार हुन आग्रह गर्दछु ।
यस्तै मन्त्रालय अन्तर्गतको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का पदाधिकारीलाई पनि आजैबाट हवाई सुरक्षाका विषयमा कुनै सम्झौता नगरी सेवा प्रदायकहरुसँग निकट रहेर काम गर्न र यस विषयमा भए गरेका कामको दैनिक रुपमा मन्त्रालयमा रिपोटिङ गर्न निर्देशन दिइसकेको छु ।
मैले पनि एक हप्ताका लागि आफ्ना पूर्व निर्धारित सबै सार्वजनिक कार्यक्रम स्थगित तथा जरुरी बाहेकका भेटघाटको कामलाई बन्द गरी मन्त्रालयको सम्पूर्ण ध्यान हवाई सुरक्षाको विषयमा छलफल, समन्वय र अल्पकालीन तथा दीर्घकालीन उपायको कार्यन्वयनमा केन्द्रित गर्ने निर्णय गरेको छु । यस विषयमा सुभेच्छुक मित्रहरुबाट सहयोगको अपेक्षा गरेको छु ।
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनु भएका चालक तथा विदेशी पर्यटकको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्न चहान्छु ।
नेपालमा हावाई सुरक्षाका विषयमा संरचनागत तथा नीतिगत सुधारका लागि तत्काल र दीर्घकालीन रुपमा गर्नु पर्ने कामको विषयमा यहाँका विचार सुझावहरु हाम्रो मन्त्रालयको इमेल minister@tourism.gov.np मा आफ्नो सम्पर्क नम्बर सहित पठाइ सहयोग गर्नु हुन हार्दिक अनुरोध गर्दछु ।

