विदेश पठाउने भनेर झन्डै दुई करोड ठगीको आरोपमा मेनपावर सञ्चालक पक्राउ


काठमाडाैं- विदेश पठाउने भनेर झन्डै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जना मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ ।

बसुन्धरास्थित ओम इन्टरन्याशनल प्रालिका सञ्चालक गुनेशकुमार ठाकुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  पक्राउ गरेको हो । सिरहाको करजन्हा नगरपालिका-६ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-४ बस्ने ठाकुरलाई इमाडोलबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले बताए ।

साउन २१ मा पक्राउ परेका ठाकुरलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले बुधबार वैदेशिक रोजगार विभागमा पठाइएकाे छ ।

ठाकुरले रवीन्द्र सापकोटासँग साझेदारी गरेर ओम इन्टरन्याशनल प्रालि चलाइरहेका थिए । उनले यूएई, कतार, साउदी अरब, मलेशिया र कुवेत पठाउने भनेर युवाबाट रकम लिएको पाइएको एसपी आचार्यले बताए ।

विदेश पठाउने भन्दै ठाकुरले ८५ युवाबाट रकम लिएको पाइएको छ । सबै गरेर एक करोड ९७ लाख १७ हजार रुपैयाँ ठगेको देखिएको एसपी आचार्यले बताए । रकम उठाए सम्पर्कविहीन  पीडित युवाले उनीविरूद्ध प्रहरीमा उजुरी दिएका थिए ।

 

प्रतिक्रिया