रवि लामिछानेलाई आज रुपन्देहीबाट पोखरा लगिँदै


भैरहवा – ३ दिनसम्मको लगातारको बयानपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देहीबाट पोखरा लगिँदैछ ।

मंगलबारदेखि जारी बयान बिहीबार ढिला गरी सकिएपछि लामिछानेलाई पोखरा लगिन नभ्याइएकोले आज लैजान लागिएको हो ।

प्रहरी स्रोतका अनुसार लामिछानेलाई मंगलबार मौखिक प्रश्न सोधिएको थियो भने बुधबार र बिहाबार करिब ७० लिखित प्रश्न सोधिएको छ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतहरूको टोलीले लिएको बयानमा लामिछानेले आफू सहकारी ठगी प्रकरणमा संलग्न नभएको बताएका छन्। लामिछानेलाई बुधबार बिहानको पहिलो उडानबाट भैरहवा विमानस्थलबाट पोखरा लगिने प्रहरीले जनाएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम  हिनामिनामा संलग्न रहेको आरोप छ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

प्रतिवेदन अनुसार बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ।

लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरिएको थियो भने पुनः दोस्रोपटक सात र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो।
लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया