चिनियाँ राजदूतले मर्यादा विपरीत अभिव्यक्ति दिएको सांसद खतिवडाको टिप्पणी


काठमाडौँ – नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले चिनियाँ राजदूत छन् सोङले कूटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् ।

२८ असारमा चितवनको सिमलतालबाट त्रिशूलीमा खसेर हराएका दुईवटा बस खोजीलाई लिएर चिनियाँ राजदूतले सामाजिक सञ्जाल एक्समा स्ट्याटस लेखेका थिए ।

मंगलबार काँग्रेस सांसद खतिवडाले प्रतिनिधि सभा बैठकमा चिनियाँ राजदूतको नाम नलिई छिमेकी मित्रराष्ट्रका राजदूतले कूटनीतिक मर्यादा र आचारसंहिता विपरीत अभिव्यक्ति दिएको बताए ।

‘सर्च गर्ने टोलीलाई गुडलक अल द सर्च टिम भनेर ट्वीटर (हाल एक्स) मा लेख्ने गरिएको छ । बस नखोज चुम्बक खोज भन्ने गरिएको छ । कमसे कम नेपाललाई आपत् पर्दा सहयोग गरौँ, मानवीय संवेदनाबारे बोलौँ, अप्ठेरो परेका बेला हाँसीमजाकमा नउडाऔँ भनेर अनुरोध गर्न चाहन्छु’, सांसद खतिवडाले भने ।

उनले यस विषयमा परराष्ट्र मन्त्रालयले राजदूतसँग स्पष्टीकरण लिनुपर्ने पनि बताए । मुग्लिन नारायणगढ सडकको सिमलतालबाट २८ असारको राति लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूलीमा खसेको थियो ।

बस खोज्न भारतबाट समेत गोताखोरहरू मगाइएको थियो । भारतीय गोताखोरले चुम्बकको सहायताले बस खोज्ने क्रममा चुम्बक नै हराएको थियो । सोही विषयमा टिप्पणी गर्दै चिनियाँ राजदूत सोङले चुम्बक खोजौँ भन्ने स्ट्याटस लेखेका थिए ।

प्रतिक्रिया