अलराउन्डर आदिलसँग क्यानले माग्यो स्पष्टिकरण, एक सातासम्म दिएनन् जवाफ


काठमाडौं– पूर्व राष्ट्रिय क्रिकेटर अलराउन्डर आदिल अन्सारीलाई नेपाल क्रिकेट संघ क्यानको अनुशासन समितिले स्पष्टिकरणका लागि पत्र पठाएको छ ।

स्पट फिक्सिङमाको अभियोगमा सफाइ पाएका अन्सारीमाथिको निलम्बन फुकुवा सम्बन्धी अध्ययन गरिरहेको अनुशासन समितिले स्पष्टिकरणका लागि पत्र पठाएको हो ।

अन्सारीले सात दिनसम्म पनि पत्रको जवाफ फर्काएका छैनन् ।

उनी माथि लागेको प्रतिबन्ध फुकुवाको प्रक्रिया अगाडी बढाउन क्यानले अनुशासन समितिलाई जिम्मा दिएको थियो ।

नेपाल क्रिकेट संघ क्यानको बिहीवारको बैठकले सबै प्रक्रिया पुरा गर्न अनुशासन समितिलाई जिम्मा दिएको छ ।

क्यानको बोर्ड सदस्य तथा अनुशासन समितिका संयोजक सुदीप शर्माले पत्रको जवाफ आएपछि के गर्ने भन्नेबारे छलफल हुनेछ ।

संयोजक शर्माले भने,‘पत्रको जवाफ हेर्छौ । अदालतको आदेश पनि छ । त्यसपछि हामी निर्णय गरेर बोर्डमा सिफारिस गर्छौ । यसका लागि आईसीसीसँग पनि आवश्यक समन्वय गर्नुपर्ने हुन्छ ।’

आदिलले राष्ट्रिय टोलीमा डेब्यु गर्दा लामो समयसम्म नेपाली क्रिकेटमा योगदान गर्नसक्ने खेलाडीका रुपमा हेरिएको थियो ।

आदिलसहित ५ जनालाई काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो ।

पछि सबैलाई काठमाडौं जिल्ला अदालतले सफाई दिएको थियो ।

विष्फोटक ब्याटर आदिल मध्यम गतिका बलर समेत हुन ।

उनले नेपालबाट सन् २०२२ मा अमेरिकाविरुद्धको खेलबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

पहिलो खेलमै उनले २४ बलमा ३६ रन प्रहार गरेका थिए भने ३ विकेट समेत लिएका थिए ।

उनले नेपालका लागि ६ एकदिवसीय र ८ टि–२० अन्तराष्ट्रिय खेल खेलेका छन् । जसमा उनले एकदिवसीयमा ५ र टि–ट्वान्टीमा ६ विकेट लिएका छन् ।

प्रतिक्रिया