

चैत मसान्तभित्र बक्यौता रकम लिन आउन उखु किसानलाई श्रीराम सुगर मिल्सको आह्वान

रौतहट – रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सले ऊखु किसानहरुको बक्यौता रहेको रकम चैत मसान्तभित्र लिन आउन आह्वान गरेको छ ।
हाल मिलले ३ करोड २३ लाख ७५ हजार चार सय १६ रुपैया भुक्तानी गर्न बाँकी रहेको हुँदा बक्यौता रकम भुक्तान गर्न श्रीराम सुगर मिल्स संचालक पक्षले चैत्र मसान्त भित्र आफ्नो वाँकी रहेको रकमको भुक्तानी लिन आउन आहवान गरेको हो ।
गत साउन ११ गते गोल्छा समूहले एक सूचना जारी गर्दै मह्मदपुर गरुडामा रहेको सो चिनि मिल बाध्यात्मक परिस्थितिका कारण भन्दै स्थायी रुपमा बन्द गरेको थियो । मिल बन्द भएपछि आफ्नो बक्यौता रकमको बारेमा अन्योलमा रहेका किसानहरुलाई पछिल्लो समय विभिन्न चरणमा गरेर ३७ करोड रकम भुक्तानी दिएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा आईतबार जिल्ला प्रशासन कार्यालयमा श्रीराम सुगर मिल्स र उखु उत्पादक संघ बिच भएको सहमति अनुसार बक्यौता भुक्तानीको दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

