धनगढीको नोभा हस्पिटलमा विवाद : प्रहरीद्वारा ३ राउण्ड अश्रुग्यास प्रहार


धनगढी- जन्डिसको समस्या लिएर धनगढीको नोभा हस्पिटलमा भर्ना भएका कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसिब चौधरीको मृत्युको विषयलाई लिएर तनाव सिर्जना भएको छ ।

सामान्य अवस्थामा ल्याइएका चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न खोजेका थिए ।

प्रहरीले स्थिती नियन्त्रणमा लिन तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्ट अस्पताल बाहिर भेला भएका आफन्तले ढुंगामुढा गर्न थालेपछि स्थिती नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको बताए ।

उनकाअनुसार अश्रुग्यास प्रहार गरेपछि अहिले उनीहरु तितरवितर भएका छन् भने अस्पतालले मृतक पक्षसँग वार्ता गरिरहेको छ ।

जन्डिसको समस्या लिएर ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको अवस्था जटिल बन्दै गएपछि समेत अन्यत्र रेफर गरिएको थिएन ।

शुक्रबार अन्तिम समयमा आएर मात्र अस्पतालले नेपालगञ्ज वा भारतको बरेली लैजान भनेको थियो । दिउँसो साढे ३ बजे नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्र्रममा चौधरीको मृत्यु भएको थियो । आफन्तले अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् भने डाक्टरलाई कारवाही र क्षतिपूर्तिको माग गरेका छन् ।

अस्पताल प्रशासनले शुक्रबार साँझदेखि मृतकका आफन्तसँग वार्ता गरेपनि कुरा मिल्न सकेको छैन ।

 

प्रतिक्रिया