जितेन्द्रसँगै त्रिशूलीमा बग्यो विदेशमा कमाएर परिवारको पेट पाल्ने सपना


सर्लाही- गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२८, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरो खस्दा दुई वटा बसमा सवार ६५ बढी यात्रु बेपत्ता भए । नदीमा बससँगै धेरैको जीवनमा केही गर्ने सपना बिलायो भने उनीहरूका परिवारले सदस्य मात्रै गुमाएनन्, बाँच्ने आधार पनि सधैंका लागि अन्त्य भएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका–३, का जितेन्द्र रामको विदेशमा कमाएर परिवारको पेट पाल्ने सपना पनि सोही घटनामा विलीन भयो । परिवारका अनुसार जितेन्द्र गाउँकै अर्का (हाल बेपत्ता) साथी रामा दाससँगै वैदेशिक रोजगारको तयारीमा थिए । उनी म्यानपावर कम्पनीले विदेश जानुपूर्व गरिने स्वास्थ्य परीक्षण गर्न बोलाएपछि असार २४ गते मात्र काठमाडौं पुगेका थिए । स्वास्थ्य परीक्षण गरी घर फर्कंदै गर्दा असार २८ गते झिसमिसेमा उनी सवार बस पहिरोमा परेर त्रिशूलीमा खस्यो ।

जितेन्द्रले २७ गते साँझ ७ बजेतिर आफू घर आउँदै गरेको परिवारलाई जानकारी गराएका थिए । परिवारसँगको त्यही संवाद जितेन्द्रको अन्तिम संवाद बन्यो । करिब आठ वर्ष पहिला पनि उनी वैदेशिक रोजगारीका क्रममा तीन वर्ष मलेसिया बसेर फर्किएका हुन् । २८ वर्षीय जितेन्द्रका श्रीमती दुई छोरी र एक छोरा छन् ।

आर्थिक सङ्कटबाट गुज्रिरहेको जितेन्द्रको परिवारमा यस घटनाले ठूलो बज्रपात गराएको छ । पाँच धुर घडेरीमा बनेको फुसको घरमा उनका बुवा, ठूलोबुवा र आफ्नो समेत गरी १७ जनाको परिवारले मुस्किलले ओत लागेको छ । भतिजोले विदेशबाट कमाएर परिवार पाल्छु भनेको ठूलो बुवा सरपलाल महरा सम्झन्छन् ।

पीडित परिवार अझै उनीहरू फर्किने आशमा छन् । बेपत्तामध्ये बरहथवा नगरपालिका–३, माझी टोलाका १८ वर्षका रमित कुशवार माझी र जितेन्द्र रामको मात्र शव फेला परेको हो । रामनगर गाउँपालिका–३, का रामा दास र कविलासी नगरपालिका–८, का रवीन्द्र साहको अझै अत्तोपत्तो छैन । यतिका दिन भइसक्दासमेत फेला नपरेका उनीहरू जीवित फेला पर्ने परिवारले आश मारिसकेका छन् ।

बेपत्ता रामा दासको बुवा शुक्रबार मात्र मलेसियाबाट चितवन आएर छोराको लास भेटिने आशमा कुरिरहेका छन् । उनी १० वर्षदेखि मलेसियामा रोजगारीको सिलसिलामा थिए भने उनका दाजुसमेत वैदेशिक रोजगारीको लागि मलेसियामै छन् । गाउँघरमा ट्याक्टर जोत्ने काम गर्ने रामा पनि पछिल्लो समय राम्रो कमाइको लागि भन्दै वैदेशिक रोजगारीको तयारीमा थिए ।

उनलाई मेनपावर कम्पनीले कागजात मिलाउन भन्दै काठमाडौं बोलाएको आमा बताउँछिन् । घटनाको जानकारी पाए लगत्तैबाट मुर्छा परेकी उनले मलिन अनुहारमा छोराको लासमात्र भए पनि खोजी दिन आग्रह गरिन् । दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्दै आएको परिवार जितेन्द्रको मृत्युपछि थप सङ्कटमा परेको छ ।

बरहथवा नगरपालिका–३, रमित कुश्वार माझीको परिवारमा पनि आँखा ओभानो छैन । परिवारका जेठा छोरा गुमाउनु पर्दा असह्य पीडा भएको बुवा रवीन्द्र कुश्वार माझीले बताए ।

गाउँमा मेलापात गरेर बसिरहेका रमित गत तिहार पछिमात्र साथीको पछि लागेर काठमाडौं गएका थिए । त्यसपछि पनि उनी धेरै पटक घर आउने-जाने गरे । त्यस दिन पनि गाउँमा आफन्त पर्नेको विवाहमा सरिक हुन भनेर रमित बस चढेका थिए ।

शुरूमा सर्लाहीका लागि टिकट काटेका कविलासी नगरपालिका–८, निवासी २४ वर्षका रवीन्द्र साहलाई पनि काउन्टरवालाले रौतहटको बसमा चढाई दिएका थिए । रवीन्द्रका परिवार अझै बेहोसमै बरबराइरहेका छन् । परिवारका केही सदस्यले चितवनको अस्पताल कुरेको हप्तादिन बढी भइसक्यो । यता सास वा लासको अत्तोपत्तो नहुँदा परिवारमा थप पीडा भएको छ ।

गत असार २८ गते झिसमिसेदेखि एकनासले सामाजिक सञ्जालमा पहिरोसँगै त्रिशूलीमा बस खसेको समाचार आइरह्यो । जितेन्द्रको परिवारको कानमा पनि उक्त घटनाको सूचना पर्‍यो । पहिले उनीहरू अन्योलमा परे । पछि सोधीखोजी गर्दा जितेन्द्र सवार बस पनि खसेको पुष्टि भयो ।

घरमा रूवावासी शुरू भयो । के गर्ने न कसो गर्ने अन्योलबीच जितेन्द्रका ठूलोबुवा सरपलाल महरा चितवन दुर्घटनास्थलतर्फ लागे । घटनाको दोस्रो दिन जितेन्द्रको शव त्रिशूलीमा फेला परेको खबर उनले पाए । लगत्तै उनीहरू लास राखेको भरतपुर अस्पताल पुगे । दुई दिनसम्म पानीले ढाडिएको लास चिन्न गाह्रो हुने अवस्था भइसकेको थियो ।

जितेन्द्रको हुलियासँग मिल्दोजुल्दो हुलियाको रौतहटकै एक युवकको समेत ‘रेकर्ड’ भएपछि प्रहरीलाई समेत शव चिन्न गाह्रो भयो । त्यसपछि उताको समेत परिवारलाई प्रहरीले अस्पताल झिकायो । त्यसबेला जितेन्द्रका ठूलोबुवाले आफ्नो भतिजो र रामा दासले २७ गते राति बनाएको अन्तिम टिकटक भिडियो प्रमाणका रूपमा पेस गरे ।

प्रहरीले समेत भिडियोमा भएको कपडा तथा जुत्ताबाट जितेन्द्रको शवको यकिन सनाखत गर्‍यो । प्रहरीले शव दिएपछि उनलाई अर्को आपत् आइलाग्यो । भतिजोको शव ल्याउन शव वाहनले रु १७ हजार मागेपछि उनी छाँगोबाट खसेजस्तै भए । गोजीमा एक बोतल पानी किन्ने पैसा नभएका उनका लागि त्यति ठूलो रकम पहाड बनेर उभियो ।

शवसँगै बसेर रुँदै गुहार मागेको सरपलाल बताउँछन् । एक व्यक्तिले शव वाहनलाई सर्लाहीसम्म आइपुग्नका लागि तेल हाल्न भनेर रु आठ हजार दिएपछि उनी रातारात भतिजोको शव लिएर सर्लाही पुगेका थिए ।

अब काजक्रिया कसरी गर्ने चिन्ताले परिवारलाई सताएको छ । -सिंगबहादुर थापा

प्रतिक्रिया