रविको राजनीतिलाई विनोद चौधरी भन्छन्: स्टन्टबाहेक अरु केही होइन


काठमाडौं – नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेबारे मुख खोलेका छन्।

उनले सोमबार समाजिक सञ्जालमार्फत रास्वपा सभापति लामिछानेबारे स्टन्टको राजनीतिबाहेक अरु केही नभएको आरोप लगाएका हुन्।

सांसद चौधरीले सभापति लामिछानेलाई कटाक्ष गर्दै विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानविनको घेरामा रहेको व्यक्तिले जसरी हिजो संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे त्यो स्टन्टको राजनीतिबाहेक अरु केही नभएको आरोप लगाएका हुन्।

उनले लेखेका छन्:
प्रतिनिधिसभाको बैठकमा एक जना माननीयले मप्रति लक्षित गरेर जनतालाई दिग्भ्रमित पार्ने नियतले तथ्यहीन, अत्यन्तै नियोजित र कुण्ठापुर्ण अभिव्यक्ती दिएका छन्। जसकाप्रति मेरो घोर आपत्ती छ। विवादित विगत र बर्तमान भएको र अहिले पनि राज्यको छानविनको घेरामा रहेको व्यक्तिले जसरी हिजो संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही होइन ।

विगतमा सत्ताको चरम दुरुपयोग गरेर प्रहरी प्रशासनलाई चर्को दवाव दिएर ममाथि जुन प्रतिसोध साध्न खोजिएको थियो, हिजोको उनको अभिव्यक्ति त्यही स्टन्टको मानसिकताको निरन्तरता मात्रै हो ।

अन्तराष्ट्रिय संगीत दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँको निवास बालकोटमा भएको कार्यक्रमलाई असान्दर्भिक रुपमा जसरी राजनीतिकरण गर्ने दुष्प्रयास गरिएको छ, त्यो अत्यन्तै निन्दनीय छ। संसद्को रोष्टमलाई कसैको कुण्ठा व्यक्त गर्ने र गलत नियतले अरुमाथि प्रहार गर्ने थलो नबनाउन पनि आग्रह गर्दछु।

प्रतिक्रिया