नेपाल-युरोपेली सङ्घ संयुक्त आयोगको बैठक बुधबार


काठमाडौं – नेपाल–युरोपेली सङ्घ संयृुक्त आयोगको तेह्रौँ बैठक यही मङ्सिर ८ गते बुधबार काठमाडौँमा हुने भएको छ । बैठकमा भाग लिने तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सङ्घको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी आज काठमाडौँ आऐका छन् ।

बैठकमा आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयका साथै नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धका सबै पक्षमा विचार विमर्श हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।

बैठकमा द्विपक्षीय विकास सहायताका समग्र पक्षमा छलफल हुनेछ । युरोपेली सङ्घले नेपाललाई व्यापार, वाणिज्य, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, मानव संसाधन विकास, पर्यावरण संरक्षणलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नेछन् । नेपाली विमान सेवालाई युरोपेली मुलुकको आकाशमा उड्न लगाइएको प्रतिबन्ध चाँडोभन्दा चाँडो हटाउन नेपाली पक्षले बैठकमा उच्च प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया