

शैल्यशिखरमा योजना सम्पन्न गर्न मेयरदेखि वडाध्यक्षहुँदै कर्मचारीसम्म मिलाउनुपर्ने !

काठमाडौं – दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि अधिकृतसहित घुस लिँदालिँदै रङ्गेहात पक्राउ परेका कर्मचारीले पालिकाको काम गर्दा मेयरदेखि वडाध्यक्षहुँदै प्रमुख प्रशासकीय अधिकृत(हाकीम) र अन्य कर्मचारीलाई मिलाउनु पर्ने तथ्य खोलेका छन् ।
गत सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको कार्यालयले कृषि प्राविधिक (अधिकृत) मोहनसिंह धामी र कृषि नायव प्राविधिक सहायक(जेटीए) अशोकसिंह धामीलाई ४ लाख १२ हजार रुपैयाँ घुस लिँदालिदैँ समातेको थियो ।
सोही क्रममा प्रहरीले बुधबार उनीहरूलाई विशेष अदालत काठमाडौंमा उपस्थित गराएको थियो। त्यसक्रममा प्रहरीले मिसिलमा उनीहरूले बोलेको अडियो टेप र भिडियोपनि संलग्न राखेर अदालत समक्ष पेश गरेको छ ।
अडियो टेपमा उनीहरूले शैल्यशिखरको उक्त योजना सम्पन्न गर्नका लागि मेयर विजयसिंह धामी ९ वटा वडाका वडाध्यक्ष, पालिकाका हाकीम, स्टोर किपर, इन्जिनियरलगायतका कर्मचारीलाई मिलाउनका लागि घुस चाहिने भन्दै घुस मागेको प्रमाण अदालत समक्ष प्रहरीले पेश गरेको छ । भिडियोमा भने उनीहरूले घुस लिइरहेको दृष्य रहेको अदालत स्रोतले कागजपत्रलाई बताएको छ ।
यसका साथै उनीहरूमाथि थप अध्ययनका लागि हिरासतमा राख्न ७ दिनको म्याद समेत प्रहरीले पाएको छ ।
कृषि प्राविधिकद्वय धामीले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने जानकारी आएसँगै अख्तियारबाट खटिई गएको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका-४ बोराडाँडीबाट उनीहरूलाई पक्राउ गरेको थियो ।
उनीहरूले सेवाग्राहीबाट नगद ४ लाख १२ हजार घुस लिइसके र सो बाहेक ४५ लाख ६० हजारको ५ थान चेक र जेटीए धामीको नाममा काटिएको २ लाख ५० हजारको २ वटा गरी ५० लाख ६० हजारको चेकसहित नियन्त्रणमा लिइएको अख्तियारले बताएको छ ।
दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
यो पनि:
शैल्यशिखर: मेयर धामीका कारण सुदूरपश्चिम मै बदनाम
घुससहित समातिएका शैल्यशिखर नगरपालिकाका अधिकृत धामीसँग भेटियो ५० लाखको चेक
रंगेहात समातिएका शैल्यशिखर नगरपालिकाका अधिकृत धामीसँग भेटियो ४ लाख १२ हजार
शैल्यशिखर नगरपालिकाका कृषि अधिकृतसहित २ जना घुससहित पक्राउ

