सुदूरपश्चिममा खगराजलाई दल नेता बनाउन प्रचण्डले दिएको निर्देशन अलपत्र


काठमाडौं – नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको निर्देशनको अवज्ञा गरेको छ ।

प्रचण्डले गत असार १२ गते सुदूरपश्चिम पार्टीलाई प्रदेश संसदीय दलको नेताका स्थायी कमिटी सदस्य खगराज भट्टलाई दल नेतामा पुर्नस्थापित गर्न लिखित निर्देशन दिएका थिए । तर, निर्देशन पालना हुन सकेको छैन ।

भट्ट सुदूरपश्चिममा माओवादीका सबैभन्दा सिनियर नेता हुन् ।

सुरुमा दल नेता भट्ट नै भएपनि पछि सांसद मानबहादुर धामीले बहुमतबाट भट्टलाई दल नेताबाट हटाउँदै आफु नेता भएका थिए ।

सभामुखबाहेक १० सांसद सांसदमध्ये धामीको पक्षमा ६ जना पुगेका थिए भने भट्टको पक्षमा ४ जना थिए ।

तर अहिले भट्ट र धामी दुवैको पक्षमा ५-५ जना छन् ।

भट्टको पक्षमा झपट साउँद, शिवसिंह ओली,जानकी कुवँर पौडेल र रमेश धामी छन् भने धामीको पक्षमा ओमविक्रम भाट,अक्कल रावल, लक्ष्मी विक र गीतादेवी माल छन् ।

विवाद बढ्दै गएपछि अध्यक्ष प्रचण्डले भट्टलाई नै दल नेता बनाउन निर्देशन दिएका थिए ।

निर्देशनपछि संसदीय दलका नेता मानबहादुर धामीले आफु बहुमतबाट नेता बनेकाले बहुमत सिद्ध गरेर दल नेता बन्न चुनौती दिएका थिए ।

नेता भट्टले पार्टी अध्यक्षको निर्देशनबारे आफुले बोल्नुपर्ने अवस्था नरहेको बताए ।

प्रदेशसभा सदस्य शिवसिंह ओलीले पार्टीको निर्देशन कार्यान्वयमा ढिलाई नहुनुपर्ने बताए ।

ओलीले भने,‘पार्टीले संसदीय दललाई निर्देशन दिनुपर्ने हो । यसमा ढिलाई गरिनु हुँदैन । जहाँसम्म धामीजीले बहुमतको चुनौती दिनुभएको छ । अहिले उहाँ पनि बहुमतमा हुनुहुन्न । यस्तोमा पार्टीको निर्देशन मानेर जाँदा नै राम्रो हुन्छ ।’

सुदूरपश्चिममा भट्टलाई मुख्यमन्त्रीका रुपमा चर्चा गरिएको थियो । तर राजनीतिक समिकरण नमिलेपछि उनले त्यो अवसर पाएनन् ।

 

प्रतिक्रिया