जब छोराबुहारीले वृद्ध बुवालाई बीच जंगलमा लगेर छाडिदिए…


काठमाडाैं- पुराणमा वर्णित श्रवण कुमारका कथाहरू वैदिक सनातन धर्म मान्ने हरेक समुदायमा लोक कथाजस्तै बनेका छन् । सन्तानको कर्तव्यका सन्दर्भमा श्रवण कुमारका कथाहरूले नैतिक शिक्षा प्रदान गर्छ ।

श्रवण कुमार सानै थिए तर उनका आमाबुवा वृद्ध भइसकेका थिए, त्यसमाथि पनि आँखा देख्दैनथे । आँखा नदेख्ने वृद्ध बाबुआमालाई डोर्‍याएर श्रवणकुमार तीर्थमा लैजान्थे । आमाबुवा बाँचुन्जेल यसरी नै सेवा गरिरहने र दिवंगत भएपछि मात्रै आफ्ना लागि सोच्ने प्रण श्रवण कुमारले गरेका थिए । मातापिता अति वृद्ध भएकोले हिँड्न नसक्ने भए । त्यसपछि श्रवणकुमारले मातापितालाई खर्पनमा बोकेर तीर्थ यात्रामा लैजाने गर्थे।

एक श्रवण कुमार थिए जो आफ्ना आमाबुवालाई खर्पनमै बोकेर तिर्थ यात्रामा लैजाने गर्थे तर मोरङमा भने छोराबुहारीले वुद्ध बुवालाई जंगलमा लगेर छाडेको घटना सार्वजनिक भएको छ । बेलबारीमा आफ्नै छोराबुहारीले मध्यजंगलमा लगेर छाडिदिएका एक वृद्धलाई वनकर्मीले उद्धार गरेका हुन् ।

बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट मंगलबार ७० वर्षीय जामुनलाल झांगडलाई चार दिनपछि उद्धार गरिएको हो । हेरालु टोलीले वनबाट उद्धार गरी बेलबारी नगर अस्पताल भर्ना गराएका छन् ।

वन समितिका अध्यक्ष दिनेश गिरीका अनुसार ४ दिनअघि छाेराबुहारीले मोटरसाइकलमा बसाएर उनीलाई बीच जंगलमा लगेर छाडिदिएका थिए ।  वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न नसक्ने अवस्थामा रहेको गिरीले बताए । वन अध्यक्ष गिरीले घटनाबारे प्रहरीलाई जानकारी गराइएको बताएका छन् ।

बेलबारी नगरपालिका-७, डांगी टोलमा बस्दै आएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताइन् ।

प्रतिक्रिया