ट्रम्प भन्छन्: आक्रमण मेरो हत्या गर्ने अभिप्रायले गरिएको थियो


वासिङ्टन – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सञ्चारमाध्यम ‘न्यूयोर्क पोस्ट’ सँगको कुराकानीमा शनिबारको आक्रमणमा ‘आफू मारिने सम्भावना’बाट उम्केको बताएका छन्।

रिपब्लिकन नेसनल कन्भेन्सनमा भाग लिन मिल्वौकी जाने क्रममा आफ्नो विमानमा सवार ट्रम्पले ‘न्यूयोर्क पोस्ट’ लाई दिएको अन्तर्वातामा आफूलाई बचाउन सुरक्षा अधिकारी र अभियानमा सहभागी शुभेच्छुकले खेलेको भूमिकाको प्रसंशा गर्दै भने, ‘सायद म यहाँ हुने थिइन, म मरेको हुन्थेँ होला ।’

उनले आफ्नो दाहिने कानमा सेतो पट्टी बाँधेर सुनाएको र अति वास्तविक अनुभव भएको पत्रिकाले उल्लेख गरेको छ ।

शनिबार एक चुनावी र्‍यालीमा सहभागी हुने क्रममा बन्दुकधारीले प्रहार गरेको गोलीले ७८ वर्षीय ट्रम्पको कानमा लछार्दै गएको थियो । आक्रमणबाट उनको अनुहार रगताम्य भएको, एक जना पैदलयात्रीको मृत्यु भएको र अन्य दुई जना घाइते भएका थिए ।

ट्रम्पले र्‍यालीलाई सम्बोधन गर्ने क्रममा अवैध आप्रवासीसम्बन्धी चार्ट पढ्नका लागि आफ्नो टाउको दायाँतिर नझुकेको भए आफ्नो मृत्यु हुने बताएका थिए ।

उनले भने, “घटनापछि धेरैले भनिरहेका छन् कि भाग्यले वा भगवानको कृपाले म अझै पनि जीवित छु ।”

गोली प्रहार गर्ने आक्रमणकारीलाई तत्काल ‘सफाया’ गरेकामा उनले गुप्तचर सेवाका एजेन्टको प्रशंसा गरे ।

उनले भने, “उनीहरूले आक्रमणकारीलाई आँखाको बीचमा एउटा गोली प्रहार गरी आफूलाई भीडबाट बाहिर निकालिएको मलाई बताइएको छ ।”

प्रतिक्रिया