ओली प्रधानमन्त्रीमा नियुक्त


काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी पेश गर्न दुई वा दुईभन्दा बढी दललाई आह्वान गरेका थिए । उक्त अवधि आज साँझ ५ बजे सकिएसँगै अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री नियुक्ति आज भएपनि शपथग्रहण भने सोमबार मात्रै हुने भएको छ । राष्ट्रपति कार्यालयले सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथको तयारी गरेको छ । सोमबार बिहान प्रधानमन्त्रीसहित मन्त्रीहरुको शपथ गराउन कांग्रेस र एमाले मन्त्री छनौटको तयारीमा रहेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभाका १६६ सदस्यको समर्थन भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलसमक्ष शुक्रबार राती नै प्रधानमन्त्री पदमा दाबी पेस गरेका थिए । अहिले काँग्रेस-एमाले सरकारमा जाने मन्त्री चयनमा व्यस्त रहेका छन् ।

कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने लगभग निश्चित रहेको छ । त्यस्तै रमेश लेखक, आरजु राणा लगायत मन्त्री बन्ने चर्चा रहेको छ । त्यस्तै एमालेबाट विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा रहेको छ ।

प्रतिक्रिया