ओलीको शपथ भोलि ११ बजे


काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति गर्दै छन् ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी गरेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली अपराह्न ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । राष्ट्रपतिको आह्वानअनुसार एमालेका अध्यक्ष ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरे‍का थिए ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज असार ३० अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए । तोकिएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाइने राष्ट्रपतिको कार्यालयले जनाएको छ । नयाँ प्रधानमन्त्रीको नियुक्ति आजै साँझ हुने निश्चित भएपनि शपथ कार्यक्रम भने सोमबार हुने बताइएको छ ।

राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार ओलीको शपथ ग्रहण सोमबार बिहान ११ बजे गर्ने तयारी गरिएको छ। शपथ ग्रहण लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रीमण्डलपनि विस्तार गर्ने बताइएको छ ।

प्रतिक्रिया