‘प्रचण्डले कसरी धोका दिए’, ओली पक्षमा खुल्नासाथ बामदेव गौतमको बयान यस्तो छ


काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले तत्कालिन नेकपाको एकीकरण कायम राख्ने विषयमा प्रचण्डले धोका दिएको बताएका छन्।

शनिबार बालुवाटारमा एमाले संसदीय दलको बैठकका क्रममा उनले ४ पुसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटारमा भेट्न प्रधानमन्त्री केपी शर्मा ओली पुगेको र त्यहाँ भएका छलफलका विषयमा खुलाए।

उनले भने,‘प्रचण्डलाई त्यो १९ बुँदा फिर्ता लिनका लागि प्रधानमन्त्री ओलीले प्रस्ताव गर्नुभयो, प्रधानमन्त्री अरुलाई दिने हो भने आफूले भनेको मानिसलाई दिनुपर्छ छाड्न तयार छु पनि भन्नुभयो तर प्रचण्डले मान्नुभएन।’

आफू उक्त वार्ताको साक्षी रहेको बताएका गौतमले प्रचण्डलाई आफूले सम्झाएको र कम्युनिस्ट एकीकरण जोगाउनका निम्ति सहमतिको बाटो खोज्न बारम्बार आग्रह गरेको पनि जानकारी दिए।

कम्युनिस्ट पार्टीको सरकारलाई अलमलमा पार्नका लागि प्रचण्डले जे राजनीतिक प्रतिवेदन ल्याएका थिए त्यो फिर्ता लिएर सहमतिको अवस्थामा जाने वातावरण भए पनि प्रचण्डले नलिँदा समस्या आएको गौतमको कथन छ।

‘प्रचण्डले यहाँनेर धोका दिनुभएको हो, कम्युनिस्ट एकीकृत गर्न उहाँ पछि हट्ने कुरामा सहमत हुनु भएन’, गौतमको भनाई थियो।

प्रचण्ड आफैंले पनि १९ बुँदे प्रस्ताव ओली हेडक्वार्टरका लागि बमबाड भएको बताएका थिए। त्यसैले अहिलेको अवस्था आएको प्रचण्डको भनाई थियो।

गौतमले बैठकका क्रममा सर्वोच्च अदालतले ऋषि कट्टेललाई नेकपाको नाम मात्र नदिएर एमाले र माओवादी ब्युँताएर राम्रो गरेको पनि बताए। ‘नाम मात्र फेर्न भनेको भए ठिक हुने थिएन, पार्टी नै ब्युँताएपछि राम्रो भयो।’

प्रतिक्रिया