नलिनचोकबाट उडान नगर्ने हेलिकोप्टर पाइलटहरूको निर्णय
काठमाडाैं- असार ७ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले भक्तपुरस्थित नलिनचोकमा रहेको हेलिपोर्टको उद्घाटन गरेका थिए । तर, दुई साताअघि सञ्चालनमा ल्याइएको यो हेलिपोर्टमा उडान नगर्ने हेलिकप्टर पाइलहरुले बताएका छन् । उनीहरूले आजदेखि उडान नै नगर्ने निर्णय गरेका छन् ।
उनीहरूले हवाई सुरक्षा जोखिमको कारण देखाउँदै अहिलेकै अवस्थामा नलिनचोक हेलिपोर्टमा उडान–अवतरण गर्न नसकिने जनाएका छन् । पाइलटहरुबीच बुधबार भएको बैठकमा ननलिनचोक हेलिपोर्टबाट हुने उडान अवतरण जोखिमपूर्ण भएको र न्यूनतम पूर्वाधारसमेत नभएको भन्दै उडान नगर्ने चेतावनी दिएकाे एक हेलिकप्टर पाइलटले बताए । ‘प्राधिकरणले उड्डयन सुरक्षामा खेलाँची गरेर हेलिपोर्ट बनाएको । आवश्यक सुरक्षा संयन्त्रसहितका पूर्वाधार बिना नै उडानमा दबाब दिएको सहितका कारण अब उडान गर्न नसकिने निष्कर्ष निकालिएको हो’ उनले भने ।
हेलिप्याड वरपर रहेका अग्ला घर तथा डाँडा, टेलिकमका टावर, रूखहरू उडान र अवतरणका लागि मुख्य बाधक भएको पाइलटहरूले बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिकलाई मध्यनजर गर्दै प्राधिकरणले हेलिकप्टरहरू व्यवस्थापन गर्न नलिनचोकमा पुर्याएको हो । प्राधिकरणले साढे ११ करोड रूपैयाँ लगानीमा उक्त हेलिपोर्ट बनाएको हो ।