नेपाल र वेष्टइन्डीजबीच अन्तराष्ट्रिय सिरिजका लागि क्यानले थाल्यो पहल


काठमाडौं–नेपाल क्रिकेट संघ क्यानले नेपाल र वेष्टइन्डीजबीच अन्तराष्ट्रिय सिरिजका लागि पहल थालेको छ ।

क्यानले अनौपचारिक रुपमा यसको प्रक्रिया अगाडी बढाइसकेको छ ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत अक्टोवरमा अमेरिकासँग हुने खेलको समयमा अमेरिकामै वेष्टइन्डीजसँग सिरिज खेल्नका लागि क्यानले पहल गरिरहेको एक पदाधिकारीले बताए ।

केही समयअघि वेष्टइन्डीजको ए टोली नेपाल आएको थियो । सो टोलीमा अधिकाशं राष्ट्रिय टोलीका सदस्य थिए ।

नेपालले हालसम्म टेष्ट मान्यताप्राप्त टोलीसँग आईसीसीको नियमित प्रतियोगिताबाहेक छुट्टै सिरिज खेलेको छैन् ।

क्यानका ती अधिकारीले भने,‘अमेरिकामा नेपाली क्रिकेटको क्रेज टि–२० विश्वकपमै देखिसकिएको छ । लिग–२ खेल्न जाने समयमा मिल्यो भने वेष्टइन्डीजसँग सिरिज खेल्न सकिन्छ कि भनेर कोसिस गरिरहेका छौं । वेष्टइन्डीज क्रिकेटसँग हाम्रो राम्रो सम्बन्ध बनिरहेको छ । टि–२० वा एकदिवसीय जुनसुकै भएपनि सिरिज खेल्न सकिन्छ कि भनेर हामी सक्रिय छौं ।’

नेपाली टोली अब सन् २०२७ मा हुने एकदिवसीय विश्वकपका लागि विभिन्न टोलीसँग खेल्नेछ ।

क्यानका पदाधिकारीका अनुसार वेष्टइन्डीज बाहेक लिग–२ का दौरान अन्य विभिन्न एसोसिएट टोलीबीच पनि सिरिज हुने सम्भावना छ ।

केही समयअघि अफगानिस्तानले नेपालसँग ३ टि–२० खेलको सिरिज खेल्न प्रस्ताव गरेको थियो ।

अफगानिस्तानमै खेल्न प्रस्ताव गरेपछि त्यहाँको सुरक्षा अवस्थालाई लिएर क्यानले तत्काल सहमती जनाएन् ।

क्यान स्रोतका अनुसार खेलाडीहरु समेत अफगानिस्तान जान राजी नभएपछि क्यानले जवाफ नफर्काएको हो ।

प्रतिक्रिया