महाधिवेशन सकिए लगत्तै बालुवाटार पुगे माधव नेपाल


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । महाधिवेशनमा केन्द्रीय कमिटी घोषणा लगत्तै नेपाल प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।

कांग्रेससँगको सहमतिपछि एमालेले सरकार छाडेसँग ‘प्रचण्ड सरकार अल्पमतमा परेको छ । संसद्का दुई ठूला दलले राजीनामा गर्न दिएको सुझाव अस्वीकार गर्दै प्रधानमन्त्रीले संसदमै फेस गर्ने बताएका छन् । यसका लागि असार २८ मा विश्वासको मत लिने व्यवस्थाका लागि संसद सचिवालयमा समेत पत्र पठाइसकेका छन् । नेकपा एसले भने प्रधानमन्त्रीको पक्षमा उभिने भन्दै आफूहरू सरकारबाट नहट्ने प्रष्टीकरण दिइसकेको छ । अध्यक्ष नेपालले प्रधानमन्त्रीले विश्वासको मत लिने आँट गर्नुपर्ने समेत बताएका छन् ।

‘नयाँ सरकारले कहिले आकार लिने भन्ने कुरा यत्तिकै भन्न सकिन्न’
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चालाई क्रियाशिल बनाउनु पर्ने बताएका छन् । आज (शुक्रबार) काठमाडौँमा सम्पन्न पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चाको बैठक बस्न ढिला भइसकेको बताए । उनले अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको बताए ।

यसले केन्द्रमा मात्र नभई प्रदेशमा पनि प्रभाव पार्ने उनको भनाइ थियो । उनले नयाँ सरकारका काम, क्रियाकलापअनुसार राष्ट्रिय राजनीतिमा प्रभाव पर्ने बताए । उनले नयाँ समीकरणमा सामेल हुने पार्टीहरुसँग पनि छलफल, परामर्श गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । पुरानो सरकार कहिले बिदा हुने र नयाँ सरकारले कहिले आकार लिने भन्ने कुरा यत्तिकै भन्न नसकिने बताए ।

प्रतिक्रिया