‘जल समाधि लिँदैछु, अलबिदा’ लेखेर बेपत्ता भए प्राध्यापक तिम्सिना


इटहरी- इटहरी निवासी डा. रामजी तिम्सिना बेपत्ता भएका छन् । उनी बुधबार (असार १९) गते बिहानदेखि बेपत्ता भएका हुन् ।

त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापकसमेत रहेका तिम्सिनाले ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु । अलबिदा ’ लेखेर बेपत्ता भएका हुन् । उनले लेखेको त्यो चिर्कटो मुनि ‘मिति २०८१।०३।१९ बुधबार बिहान ४ः१८ बजे’ लेखिएको छ ।

पारिवारिक स्रोतका अनुसार तिम्सिना बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय इटहरीमा ‘खोजी गरिपाउँ’ भनेर निवेदन दिइएको छ ।

घरका अरू कोही परिवार उठ्नु अगावै उनले चिर्कटो लेखेर कम्प्युटर नजिक राखेपछि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।

तिम्सिना धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीको कोसी कलेजमा अध्यापन गर्थे । उनी खासगरी समालोचनामा रूचि राख्छन् ।

प्रहरीले उनकाे खोजी कार्य भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले तिम्सिनाको खोजी कार्य भइरहेको जानकारी दिए । उनका अनुसार सुनसरीको बराहक्षेत्र मन्दिर आसपासका क्षेत्रमा खोजी कार्य भइरहेको छ । त्यहाँ रहेका सीसी क्यामेरा पनि नियालिरहेको, सबै सीसी क्यामेरा हेरिने र थप खोजी गरिने उनले बताए ।

 

प्रतिक्रिया