‘म’ अस्थिर नभएको भए जनयुद्ध पनि हुँदैन थियो : प्रधानमन्त्री


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अस्थिर नभएको भए समृद्धिको नयाँ अभियानमा यहाँसम्म आइपुग्न नसक्ने दाबी गरेका छन् ।

आज (आइतबार) नेकपा एकीकृत समाजवादी पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो जिकिर गरेका हुन् ।

‘समृद्धिको नयाँ अभियान चलेको छ, प्रचण्ड अलि अस्थिर नभएको भए हुँदैन थियो । प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुँदैन थियो । इन्भर्टेड कमाको अस्थिर है फेरि साँच्चै अस्थिर ठान्नुहोला,’ उनले भने, ‘अस्थिर नभएको भए शान्ति प्रक्रिया पनि हुँदैन थियो । अस्थिर नभएको भए यो प्रक्रियामा हामी आइपुग्ने पनि थिएनौं ।’

उनले एकै ठाउँमा बसिरहनु मार्क्सवाद नभएको भन्दै त्यसले परिवर्तन नगराउने दावी गरे । ‘गतिशिलता भनेको के हो, हरेक चिज निरन्तर परिवर्तनको प्रवाहमा हुन्छ भनेको के हो ? किलो जस्तो एक ठाउँमा ठोकिएर बसिरहनु मार्क्सवाद हो कि, जमेको पानीको पोखरी जस्तो गरी बस्नु मार्क्सवाद हो कि, गडगडाउँदो नदी जस्तो भएर हुर्रिने मार्क्सवाद हो ?,’ उनले भने, ‘माक्सवार्द जमेको पोखरी जस्तो होइन । भनेपछि भन्यो भन्यो होइन । ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थिति अनुसार निष्कर्ष निकाल्नु माक्सर्वाद हो ।’

‘माओवादी र एकीकृत समाजवादीलाई एउटै पार्टी बनाउने प्रयास भइरहेको छ’
प्रधानमन्त्री प्रचण्डले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकता गर्ने प्रयास भइरहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीले यो महाधिवेशनबाट एकताको पक्षमा निर्णय गर्ने आशा आफूले राखेको बताए । ‘नेकपा एकीकृत समाजवादी र माओवादी बीचमा निर्वाचनअघि, निर्वाचनपछि र आजका मितिसम्म पनि हामी एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरिरहेका छौैं’, दाहालले भने, ‘मलाई लाग्छ यो महाधिवेशनले यो विषयमा ठोस निर्णय गरोस् ।’

‘भ्रष्टाचारविरोधी अभियानलाई निस्तेज पार्न खोजिँदैछ’
प्रधानमन्त्री प्रचण्डले सरकार भ्रष्टाचारविरुद्ध पहलकदमी गरिरहेको दाबी गरेका छन् । ‘यहाँ भ्रष्टाचारको कुरा आउँछ मलाई अनौठो लाग्छ । मैले यो पटक नेतृत्व गरेदेखि लगातार भ्रष्टाचारविरुद्ध आफ्नो पहलकदमी बढाइराखेको छु । अहिले पनि भ्रष्टहरू गिरफ्तार उनीहरूमाथि मुद्दा चल्ने प्रक्रिया चलि नै राखेको छ,’ उनले भने, ‘तर यहाँ सबै भ्रष्ट मात्रै छन्, भन्ने जो व्याख्या गरिएको छ । गर्न खोजीको भ्रष्टाचार विरोधी अभियानलाई पनि निस्तेज पार्ने किसिमका प्रचारबाजीहरू ठिक छैनन् ।’

उनले भएका राम्रा कामलाई राम्रो र नराम्रा कामलाई नराम्रो भन्न आग्रह गरे । यस्तै एकथरी प्रवृत्तिका मान्छेहरू केहि भएको छैन, नेताहरू पार्टीहरू खत्तम छन् भन्ने भाष्य निर्माण गर्न तल्लीन रहेको प्रधानमन्त्री दाहालले दाबी गरे ।

प्रतिक्रिया