पाँचतारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन सक्दैनन् : अध्यक्ष राउत


काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले ४३ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देशमा महिनाको १५ दिन पाँचतारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन नसक्ने जिकिर गरेका छन् ।

आइतबार काठमाडौँमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले महिनाको १५ दिन पाँचतारे होटलमा खाना खान जाने नेताहरुले म समाजवादी हुँ भन्न नसुहाउने बताए । उनले कर्णालीका नागरिकले बिरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरु समाजवादी हुन नसक्ने दावी गरे ।

उनले नागरिकका छोराछोरी सरकारी अस्पतालमा जाने तर सरकारी अस्पतालको गुणस्तर सुधार नगर्ने र आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गर्ने नेताहरु समाजवादी हुन नसक्ने बताए । उनले थपे, ‘हामी समाजवादका कुरा गर्दछौँ । म महिनाको १५ दिन जति पाँचतारे होटलमा गएर खाना खान्छु भने जहाँ ४३ प्रतिशत जनता गरिबीको रेखामुनी बाँचिरहेका छन् भने म आफूलाई समाजवादी भन्ने कि नभन्ने ? जुन ठाउँमा कर्णालीमा मान्छे बिरामी हुँदा खाने कुरा हुँदैन, नुन पाइरहेका छैनन्, सिटामोल पाइरहेका छैनन्, म महँगो अस्पतालमा उपचार गराउँछु, विदेशमा गएर उपचार गराउन चाहन्छु, म समाजवादी हो कि होइन ?’

प्रतिक्रिया