पहिरोमा पुरिएर एकैदिन ९ जनाको मृत्यु


काठमाडौं-  पहिरोले पुरिएर आज(शनिबार)  देशका तीन जिल्लाहरु गुल्मी, स्याङ्जा र बाग्लुङमा मात्र ९ जनाले ज्यान गुमाएका छन् । जसमा गुल्मीमा एकै परिवारका ५ जना छन् ।

शुक्रबार राती परेको अविरल वर्षात्का कारण गुल्मीको मालिका गाउँपालिकामा एका घरका ५ जनाको निधन भएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो ।

पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक र ८ महिनाको बिपना बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले भेषबहादुरको ढुंगामाटोले बनेको दुई तले घर पुरेको थियो । घर पहिरोले पुरिएको बिहान ७ बजे मात्रै जानकारी भएको प्रहरीले जनाएको छ ।

यस्तै बाग्लुङमा पहिरोमा नै परेर एक दम्पत्तिको मृत्यु भएको छ । भेन ३ जना घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

त्यस्तै स्याङ्जामा पनि पहिरोमा परेर २ जनाले ज्यान गुमाएका छन् । फेदीखोला गाउँपालिका वडा नम्बर ५ बाँगेस्थित दुर्गा जिटीको घर पहिरोले बगाउँदा आमा छोरी पुरिएका हुन् ।

घरमा सुतिरहेकी ३१ वर्षीय दुर्गा जिटी र उनकी ३ वर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया