बुद्ध एयरले किनेको १४ वर्ष पुरानो जहाज आयो, कहाँ भर्नेछ उडान ?


काठमाडौं- बुद्ध एयरले अर्को विमान थपेको छ । कम्पनीले ल्याएको १८ औं एटीआर गएराति काठमाडौं विमानस्थलमा अवतरण गरेको छ ।

कल साइन ९एन एएनजेड फ्रान्सबाट ओमनको मस्कट हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति पौने १ बजे आइपुगेको हो ।

उक्त जहाज बुद्धले फ्रान्सबाट ल्याएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर थपिएको जहाजबाट साउन १ गतेदेखि धनगढी तथा सुर्खेतमा थप १ उडान भर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

हाल धनगढी तथा सुर्खेतमा दैनिक २ उडान भइरहेका छन् । बुद्ध एयरले फ्रान्सेली वायू सेवा कम्पनीबाट उक्त १४ वर्षभन्दा पूरानो एटिआर किनेको हो ।

फ्रान्सेली इटालियन हवाई जहाज निर्माता कम्पनी एटिआरले यो विमान ४ मार्च २०१० मा उत्पादन गरेको हो । शुरूवातमा स्पेनी वायू सेवा कम्पनी नायसा एयरले उडाएको यो जहाज बिन्टर क्यानारिज र १ नोभेम्बर २०१७ मा बिन्टर एयरलाइन्समार्फत उडान भर्दै आएको थियो ।

१५ अक्टुबर २०२३ देखि बिन्टर एयरलाइन्सले उडान भर्न गरेर थन्काएको थियो । व्यवसायीक उडान बन्द भएपछि झण्डै आठ महिना थन्काइएको यो जहाज बुद्ध एयरले खरिद गरेको हो ।

नेपालमा हवाई सेवाका लागि स्वदेशी वायू सेवा कम्पनीले १५ वर्षभन्दा पुराना जहाज भित्र्याउन नपाउने व्यवस्था छ ।  बुद्ध एयरले उमेर हद पुग्न ८ महिना मात्र बाँकी रहदा उक्त जहाज किनेको छ ।

प्रतिक्रिया